
काठमाडौं— निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचन तथा मङ्सिरमा भएको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
स्थानीय, प्रतिनिधि र प्रदेश सभामा २३ पद रिक्त छन् । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेश सभा १ मा प्रदेश सभा सदस्य पद रिक्त छ । अन्य स्थानीय तहमा पनि पद रिक्त छन् ।
रिक्त रहेका ठाउँमा पदपूर्तिका लागि आयोगले सरकारसँग परामर्श गरी उपनिर्वाचनको मिति तोक्ने आन्तरिक तयारी गरिरहेको पौडेलले बताए ।
मिति तोक्नुपूर्व नै आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । मिति तोकेपछि मतदाता नामावली नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ । आयोगले नियमित रूपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली दर्ता गर्ने काम गर्दै आएको छ ।
आयोगका अनुसार जिल्ला समन्वय समितिको २ पद रिक्त छ । आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छन् । त्यस्तै, नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।