News Griha :: न्यूजगृह
आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै

काठमाडौं— संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै छ। संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ ।

संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ । सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको छ। हरेक १५/१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रतिनिधि सभाको पहिलो बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । आजको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्नेको मनोनयनको निर्णय सुनाउनेछन् । यस्तै बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने उल्लेख छ । 

यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८०' पेस गर्नेछन् ।

यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्नेछन् । 

के छ दलहरूको तयारी

दलहरूले यसबीचमा संसदीय दलको बैठक सम्पन्न गरिसकेका छन् । माओवादी केन्द्रले आज संसदीय दलको बैठक बोलाएको छ ।प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद् अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रस्तुत हुने तयारी गरेको छ ।

देशमा भ्रष्टाचार बढेको र जनतामा निराशा बढेको एमालेको ठम्याइ छ । सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

एमालेका सचेतक महेश बर्तौलाले संसद्ले कानून बनाउने काम पाउनुपर्नेमा आफूहरू सचेत रहेको जानकारी दिए । उनले विगतमा सरकारले संसद्लाई भूमिकाविहीन बनाएको भन्दै आगामी दिनमा पनि त्यसो गरिए सशक्त प्रतिवाद गरिने चेतावनी दिए । सरकारले संविधान र कानुन विपरित गरेका गतिविधिहरूको संसद्‌मार्फत भण्डाफोर गरिने पनि उनको भनाइ छ । 

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका सचेतक सुशीला थिङले पार्टीले यस अधिवेशनको प्रारम्भमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धिकरणसम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेको बताइन् ।

कांग्रेसका सांसद जीवन परियारले आगामी अधिवेशनमा कानुन निर्माणको कामलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धित धेरै ऐन, कानुनहरू अझै नबनेका भन्दै ति कानुनहरू बनाउन ध्यान पुर्याइने बताए ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी गरिरहेको बताए । उनले कार्यतालिका बनाएर सदनलाई व्यवस्थित गरिने जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०६:५९
Weather Update