News Griha :: न्यूजगृह
स्याउ उत्पादनमा कमी, सरकारी अनुदानले कृषकलाई राहत

मुगु— हिमाली जिल्ला मुगुको स्याउ उत्पादन पकेट क्षेत्र मनिने छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका भित्रका किसानको स्याउ उत्पादनमा ह्रास आएको छ । स्याउ उत्पादनमा कमी आएपनि सरकारले कृषकलाई दिएको अनुदान र बीमा रकम पाएपछि कृषक हर्षित बनेका छन् । 

समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको कृषकहरूको भनाई छ । उक्त पालिकामा कम्तीमा ३० बोटदेखि तीन सय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भएपनि किसानले बीमा गरे बापतको रकम भुक्तानी पाएपछि राहत महसुस भएको बताउँछन् । 

पछिल्लो समय स्याउ उत्पादन गर्नेदेखि अन्य कृषकमा समेत बीमा प्रति आकर्षण बढ्दै गएको स्थानीय बताउँछन् । स्याउ फल्ने फुल्ने समयमै छाँयानाथ रारा नगरपालिका भित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमालगायतका विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइसकेका थिए । बीमा गराउनेमा उक्त क्षेत्रका ५ सय ४७ जना कृषक रहेको तथ्यांक छ । 

छाँयानाथ रारा नगरपालिका-६ का गोविन्द बमले १ सय ६० बोट स्याउको बीमा समयमै गराएको बताए । स्याउ उत्पादन नभएपनि बीमा बापत रकम पाएपछि उनी खुसी लागेको बताउँछन् । गरिब किसानलाई सरकारको अनुदान र बीमाले फाइदा पुगेको धारणा रारा नगरपालिका-१० का रामकृष्ण सेजुवालको छ ।

यस्तै, पाँच हजार बर्ग क्षेत्रफल भित्र दुई सय भन्दा बढी स्याउको बिरुवा लगाएर स्याउ खेती गर्दै आएका छाँयानाथ रारा नगरपालिका-४ का जयलक्ष्मी भामले लगाएको बगानमा उत्पादन नभएको बताए । असिना पानी र बेमौसमी वर्षात्ले स्याउ उत्पादन निकै घटेको बताएका उनले गत वर्षको चैततिर ८ हजार ५ सय तिरेर १ सय ६० बोट स्याउको बीमा गराएकाले उत्पादन नभए पनि राहत पाए । उनले बीमा बापत ४० हजार ४ सय रुपैयाँ बीमा कम्पनीबाट लिएको सुनाउँछन् ।

समयमै बीमा गर्दा उत्पादन नभएपनि किसानलाई बीमाले निकै राहत दिएकोले यो वर्ष पनि आफू बीमा गर्ने तयारी गरिरहेको उनी बताउँछन् । उनले भने, ‘हामी किसानका लागि स्याउ बीमा धेरै राम्रो रहेछ । गत वर्ष आठ हजार पाँच सय तिरेर बीमा गराएको थिए । तर उत्पादन शून्य नै भयो । केही आम्दानी गर्न सकेनौँ । बीमाले राहत भयो । यो वर्ष पनि बीमा गराउने तयारीमा छु ।’

मुगुको स्याउ उत्पादनमा पकेट क्षेत्र मानिने छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका भित्रका विभिन्न क्षेत्रका कृषकले शिखर इन्स्युरेन्स कम्पनी लिमिटेडको मुगु शाखामा स्याउको बीमा गराउँदै आएका छन् । गतवर्षको बेमौसमी वर्षाले कसैको बोटमा स्याउको दानै फल्न सकेन भने स्याउ फलेकाको पनि ४० प्रतिशत उत्पादनमा गिरावट देखिएको शिखर इन्स्युरेन्स कम्पनी लिमिटेड मुगुका शाखा प्रमुख लोकेन्द्र भण्डारी बताउँछन् । 

भण्डारीका अनुसार सोही आधारमा मुगुका ५ सय ४७ जना कृषकले लगाएका ९० हजार भन्दा बढी स्याउका बोटको बीमा गराएबापत बिमितलाई १ करोड ८० लाख भन्दा बढी रकम भुक्तानी गरिसकिएको छ । ‘रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका गरी हामीले ९० हजार बोटको स्याउ खेती बीमा कृषकले गरेका थिए । यो वर्ष उत्पादनमा भएको ४० प्रतिशत क्षतिको आधारमा हामीले कूल एक करोड ८० लाखको हाराहारीमा किसानलाई भुक्तानी गरिराखेका छौं,’ प्रमुख भण्डारीले भने ।  

स्याउ खेती बीमा अन्तरगत सरकारले किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको छ ।  

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:१७
Weather Update