News Griha :: न्यूजगृह
अबको प्रधानमन्त्री माधवकुमार नेपाल !
फाइल तस्बिर

काठमाडौं— गत वर्षको पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । तत्कालीन अवस्थामा एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

तर राष्ट्रपति चुनावका बेला एमालेसँगको गठबन्धन तोड्दै माओवादीसहित आठ दलको गठबन्धन बनेको थियो । त्यसपछिको गठबन्धनमा रहेका दलहरूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति बन्यो ।

कांग्रेस नेताहरूका अनुसार पहिलो चरणमा प्रचण्ड, दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणमा सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने मोटामोटी सहमति भएको हो । 

सोही सहमतिलाई लिएर एक सातायता नेता नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बहस चर्चामा आएको छ । प्रचण्डले सरकार चलाएको एक वर्ष बितेसँगै सत्ता गठबन्धनभित्र सरकार परिवर्तन र नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने चर्चा शुरु भएको हो । विशेषगरी कांग्रेसका नेताहरूले नेपाललाई प्रधानमन्त्री दिनुपर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।

यद्यपि, प्रचण्डको कार्यकाल अझै १० महिना बढी बाँकी छ । 

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला र विमलेन्द्र निधिले केही दिनअघि मात्रै वर्तमान सरकारको कार्यसम्पादनलाई लिएर असन्तुष्टि जनाउँदै पूर्वसहमतिअनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखेका छन् । नेता डा. कोइरालाले सहमतिअनुसार अब एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका थिए ।

त्यस्तै, गत बुधबार पूर्वउपसभापतिसमेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले सत्तारुढ दलहरूबीचको सहमतिअनुसार समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताए । 

प्रचण्ड नेतृत्वको वर्तमान सरकार गठन हुँदा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको थियो । सोही सहमतिलाई कार्यान्वयन गर्दै गठबन्धनलाई दीर्घकालीनरूपमा अघि बढाउन शीर्ष नेताहरू सहमत हुनुपर्नेमा कांग्रेस नेताहरूले दबाब बढाइरहेका छन् । 

सत्ता गठबन्धनको भविष्यलाई लिएर आशंका व्यक्त भइरहेका बेला नेता निधिले गठबन्धन दलका साथै कांग्रेसका नेता कार्यकर्तालाई त्यही समझदारीको पक्षमा रहिरहन आग्रह समेत गरे । 

तर, गठबन्धनमा यसअघि भएको भनिएको सहमितअनुसार प्रचण्डपछि प्रधानमन्त्री हुने पालो कांग्रेस सभापति देउवाको हो भनिएको छ । गत फागुनमा प्रचण्ड, देउवा र नेपालबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएबमोजिम दोस्रो चरणमा देउवा प्रधानमन्त्री बन्नुपर्ने केही नेताहरूको दाबी छ ।

तर डा. कोइराला र निधिको अभिव्यक्तिले तत्कालीन अवस्थामा भएको सहमतिमाथि आशंका पैदा भएको छ । हाल सरकारमा रहेका मन्त्रीहरूको कार्य सम्पादनका विषयमा प्रश्न उठेपछि मन्त्री फेरबदलको दबाबमा परेका प्रचण्ड आफैं बाहिरिनुपर्ने चिन्ता थपिएको छ । प्रमुख प्रतिपक्षी एमाले पनि निरन्तर गठबन्धन भत्काउने प्रयास गरिरहेको छ ।

कांग्रेसभित्र पनि समूहगत धारणाहरू आइरहेका छन् । डा. शेखर कोइराला पछिल्लो समय सरकारको कार्यशैलीप्रति असन्तुष्ट छन् । उनी प्रचण्डको विकल्प खोज्नुपर्ने पक्षमा छन् । कांग्रेसको ठूलो दल भएकाले प्रधानमन्त्री फेरबदलमा कांग्रेस सभापति देउवा निर्णायक बन्नेछन् ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:०५
Weather Update