पूर्वप्रधानमन्त्री चन्दलाई भेटेपछि दुर्गा प्रसाईंले भने– आन्दोलनको तयारीबारे अर्थपूर्ण भेट

काठमाडौं— पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्र पक्षधर अभियन्ताको रुपमा चिनिएका व्यवसायी दुर्गा प्रसाईंले पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दलाई भेटेका छन् ।
प्रसाईंले आइतबार उनकै निवास भक्तपुरको लोकन्थली पुगेर चन्दलाई भेटेका हुन् । आन्दोलनको तयारीस्वरूप आफूले पूर्वप्रधानमन्त्री चन्दलाई भेटेको प्रसाईंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । चन्दलाई ‘दाजु’ सम्बोधन गर्दै प्रसाईंले उनीसँग अर्थपूर्ण भेट भएको बताएका छन् ।
‘आन्दोलनको तयारीस्वरुप आदरणीय दाजु लोकेन्द्रबहादुर चन्दसँग अर्थपूर्र्ण भेटघाट तथा छलफल !’ उनले फेसबुकमा लेखेका छन् । प्रसाईंले यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि भेटेका थिए ।
प्रसाईंले फागुन १ देखि आन्दोलनको घोषणा गरेका छन् ।
प्रकाशित मिति: आइतबार, माघ २१, २०८० १४:०५













