
काठमाडौं— नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । प्रतिनिधि मनोनयनमा विवाद हुँदा कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँच्चिएको बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले विज्ञप्तिमार्फत जनाएका छन् ।
शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का भएको र सन्तोष खनालको हात भाँच्चिएको ढुङ्गेलले बताएका हुन् । ‘एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र सुरु हुनुपूर्व माघ १९ गते साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा, बन्द सत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेज, कतिपय नीतिगत निर्णय, बन्दसत्र सञ्चालनका लागि आवश्यक अध्यक्ष मण्डल लगायत विभिन्न समितिहरूमा रहने नेताहरूको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरूका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्नुभयो। उहाँले एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सिर्जना हुन पुग्यो,’ प्रदेश अध्यक्ष ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बन्दसत्र चलिरहँदा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको थियो । ‘शनिबार बन्दसत्रको सुरुआतबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखा पर्यो । यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ,’ विज्ञप्तिमा भनिएको छ । ढुङ्गेलले जनसंगठन बाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वयसम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको र प्रतिनिधि छनोट नै समस्याग्रस्त बन्न पुगेको बताएका छन् ।
‘बन्दसत्रमा प्रवेश गर्नुअगाडि प्रतिनिधि निर्क्योल गर्ने विषयमा समेत अन्यौलता कायम रहेको अवस्था देखियो। त्यति हुँदाहुँदै पनि पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुरु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन्झन् अशान्त, असहज परिस्थिति देखा पर्यो । तसर्थ यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ,’ अध्यक्ष ढुङ्गेलले भनेका छन् । धादिङ जिल्ला अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।