पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

पश्चिम नवलपरासी— पश्चिम नवलपरासीमा एक व्यवसायीमाथि गोली प्रहार भएको छ । बर्दघाट नगरपालिका—१६ केराबारीनजिकै ६५ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो ।
सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए ।
पाखुरामा गोली लागेर घाइते विश्वकर्मालाई तत्काल चिसापानी अस्पताल बर्दघाट लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पताल रेफर गरिएको थियो । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए ।
विश्वकर्माले प्रयोग गर्ने स्कुटरसमेत आक्रमणकारी समूहले लिएर भागेको छ ।
प्रकाशित मिति: आइतबार, माघ २१, २०८० ०८:३०













