News Griha :: न्यूजगृह
विमानस्थल कुटपिट प्रतिवेदन : प्रहरी नेतृत्वकै कमजोरी, यस्ता छन् छानबिन समितिका १० बुँदे सुझाव

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट घटनामा गृह मन्त्रालयको छानबिनले प्रहरीको नेतृत्व तहकै कमजोरी ठहर गरेको छ । माघ १२ गते दिउँसो १२ बजे विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच कुटपिट भएको थियो । त्यस घटनाबारे बुझ्न गएका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालमाथि सीसीक्यामेरा नियन्त्रण कक्षमा पनि हातपात भएको थियो ।

बाह्य रूपमा अध्यागमन अधिकृत र असई देखिए पनि नेतृत्वले अनुशासन, आचरण, व्यावसायिक विनयशीलता तथा पदीय जिम्मेवारी सिकाउन नसकेको कारण यो अवस्था आएको छानबिनको निष्कर्ष छ । साथै, विमानस्थलको सुरक्षा र व्यवस्थापनमा खटिने निकायहरूबीच गम्भीर अविश्वास रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामगन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य थिए ।

‘समग्र घटना विवरण, स्थलगत अध्ययन, सोधपुछ, छलफल र भनाइहरूबाट विमानस्थलमा गम्भीर अविश्वास उत्पन्न भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘नागरिक उड्डयन प्राधिकरण र प्रहरीका अधिकृतबाटै अध्यागमनका कर्मचारीप्रति गरिएका टिकाटिप्पणीबाट ती निकायहरूबीच प्रभावकारी समन्वय नभएको कुरा सहजै बुझ्न सकिन्छ। सोको परिणामस्वरूप अध्यागमन र प्रहरीका कर्मचारीबीच एकापसमा अविश्वास, अनावश्यक निगरानी र कुटपिटसम्मका घटना भएको विषयलाई निष्कर्षका रूपमा लिन सकिन्छ।’

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘बाह्यरूपमा अध्यागमन अधिकृत छायालाल मोक्तान र सुरक्षामा खटिएका असई सञ्जय तामाङको नेतृत्वका प्रहरी कर्मचारीबीच हात हालाहालको अवस्था देखिए पनि यसको पछाडि उनीहरूका नेतृत्व वर्गले पर्याप्त अनुशासन, आचरण, व्यावसायिक विनयशीलता तथा पदीय जिम्मेवारी सिकाउन नसकेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन।’

खासगरी प्रहरी नेतृत्वमाथि प्रश्न उठाउँदै प्रतिवेदनमा लेखिएको छ, ‘प्रहरीले कब्जामा लिएको व्यक्तिलाई व्यावसायिक धर्मअनुरूप कारबाही गर्नुको सट्टा सामूहिक कुटपिटमा ओर्लिने, सीसीटीभी नभएको ठाउँमा सामूहिक रूपमा हुलहुज्जत एवम् कुटपिट गरी प्रमाण नष्ट गर्ने गरेमा कुन निकायबाट सर्वसाधारणले सुरक्षाको भरोसा गर्ने? प्रहरीलाई यसरी गैरव्यावसायिक आचरण गरेबापत छुट दिँदै जाने हो भने सुरक्षाको भरोसा कोबाट गर्ने?’

प्रहरी कर्मचारीले आफूभन्दा माथिल्लो दर्जाको अध्यागमन अधिकृतको मर्यादा कायम गर्न नसकेको र अध्यागमन अधिकृतले पनि प्रहरीसँग उचित व्यवहार नगरेको छानबिन समितिले औँल्याएको छ। ‘प्रहरी कर्मचारीले आफ्नै मन्त्रालय मातहतको आफूभन्दा माथिल्लो दर्जाको अध्यागमन अधिकृतलाई आवश्यक विनयशील भावले प्रस्तुत हुनुपर्नेमा आवेगमा आई गैरव्यावसायिक आचरण देखाई कुटपिटमा उभिएको देखिन्छ भने अध्यागमन अधिकृतले पनि आफूभन्दा जुनियर प्रहरी कर्मचारीप्रति उचित व्यवहार गरेको देखिएन,’ प्रतिवेदनमा लेखिएको छ।

यस घटनालाई अनपेक्षित भन्दै समितिले भविष्यमा दोहोरिन नदिन १० बुँदे सुझाव दिएको छ, जुन यसप्रकार छन्– 

१. सत्य सेवा सुरक्षणम्को भावनाविपरीत सबै किसिमका सर्वसाधारणसँग संयमित र व्यावसायिक व्यवहार देखाउनुको सट्टा आफ्नै मन्त्रालय मातहतको सिनियर अधिकृत हो भन्ने जान्दाजान्दै ड्युटी कमान्डरको आदेशबिना नै आफ्नो जिम्मेवारी (एक्सरे ) जाँच गर्न छाडी विवाद भएको ठाउँमा आउने, सम्बन्धित व्यक्तिलाई सम्झाईबुझाई गरी माथिल्लो अधिकृतलाई रिपोर्टिङ गर्नुको सट्टा सामूहिक कुटपिटको नेतृत्व गरेकोमा असई सञ्जय तामाङलाई तुरुन्त निलम्बन गरी प्रहरी ऐन एवम् नियमावली बमोजिम उचित विभागीय कारवाही गर्नुपर्ने। बिनाआदेश जिम्मेवारी छाडी कुटपिटमा सामेल हुने प्रहरी जवान विजनकुमार गुप्ता एवम् राजकुमार महतोलाई आवश्यक विभागीय कारवाही गर्ने,

२. विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा नियमित सुरक्षा जाँचलाई चुनौती दिई अटेरी गर्ने, आफ्नै मन्त्रालय मातहतका जुनियर प्रहरी कर्मचारीसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा एक जिम्मेवार अधिकृतको रूपमा देखाउनुपर्ने आचरण र अनुशासन अनुरूप व्यवहार नदेखाएकोले अध्यागमन अधिकृत छायालाल मोक्तानलाई सो कार्यालयबाट जिम्मेवारीमुक्त गरी आचरणसम्बन्धी आवश्यक कारवाही गर्ने, 

३. सो दिनको फिल्ड अफिसर प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेल भएको अवस्थामा दुई पक्षबीच विवाद भई अध्यागमन अधिकृतलाई सामूहिक कुटपिट भएको निजको प्रत्यक्ष उपस्थितिमा सीसीटीभी क्यामेरा रूमभित्र ठूलो समूहसहित गएको, अघिल्लो घटनासँग जोडिएका विवादित व्यक्तिहरूलाई नियन्त्रण र निगरानीमा नराखी सीसीटीभी कन्ट्रोल रुम र सो क्षेत्रमा भिडभाड हुन दिएको, जसले गर्दा पुन: कुटपिट भएको भन्ने बुझिएको तथा सुरक्षाको दृष्टिकोणले परिस्थितिको संवेदनशीलतालाई बुझेर कमान्ड एन्ड कन्ट्रोललाई काबुमा लिन नसकेको तथा प्रमुख अध्यागमन अधिकृत लगायतका कर्मचारीको सुरक्षामा हेलचेक्र्याइँ गरेको बुझिन आएकोले निजलाई आफ्नो जिम्मेवारी र व्यावसायिक कर्तव्यप्रति सचेत गराउने ।

४. अध्यागमन कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय दुवै गृह मन्त्रालयअन्तर्गत निकाय भएकोले उचित समन्वय र सहकार्यको कमी भई यस्ता घटना घट्न गएको देखिन्छ । विमानस्थलमा कार्यरत अध्यागमन कार्यालय र सबै सुरक्षा निकायबीच आवश्यक समन्वय, सहकार्य, सुरक्षासम्बन्धी सूचना आदानप्रदान तथा प्रतिवेदनका साथै निर्देशन र नियम निर्माण गर्न गृह मन्त्रालयले आवश्यक कदम चाल्नुपर्ने,

५. कार्यालयको लेआउट नमिलेका कारण अध्यागमनका कर्मचारी एउटा शाखाबाट अर्को शाखामा जाँदा पनि पटकपटक सुरक्षा जाँच गर्नुपर्दा झन्झटिलो भएर पनि यस्तो घटना घटेको भन्ने भनाइ रहेकोले विमानस्थलको सुरक्षा एवम् अध्यागमन व्यवस्थापनलाई सहज र झन्झटमुक्त बनाउन सुरक्षा जाँच सकिएपछि इमिग्रेसन क्लियरेन्स गर्ने गरी लेआउटलाई परिमार्जन गर्नुपर्ने,

६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सुरक्षाकर्मीसहितका सबै कर्मचारीको मेटल फ्री लग अनिवार्य गर्नुपर्ने,

७. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत निकायहरूबीच नियमित बैठक, समन्वय एवम् अन्तरक्रियामार्फत अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने,

८. प्रहरी कर्मचारीलाई व्यावसायिक आचरण, समन्वय र अनुशासनसम्बन्धी कमी देखिएकोले यस सम्बन्धमा प्रहरी प्रधान कार्यालयको विशेष ध्यानाकर्षण गराउनुपर्ने,

९. मन्त्रालय र विभागले अध्यागमन सुशासन, आचरण सुधार लगायतका विषयमा विशेष निगरानी बढाई त्यहाँ कर्मचारी खटाउँदा मापदण्ड बनाई खटाउनुपर्ने र कार्यालयमा हाजिर हुनुपूर्व आवश्यक तालिम तथा अभिमुखीकरण दिनुपर्ने,

१०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले मन्त्रालयबाट छानबिन समिति गठन भइसकेपछि सञ्चारमाध्यममा गम्भीर विषयहरू उठान गर्नुभएकोले उक्त विषय मन्त्रालयले जानकारीमा राख्न आवश्यक देखिन्छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०६:३६
Weather Update