News Griha :: न्यूजगृह
राजतन्त्र चाहनेहरू चुनावी मैदानमा आउनुहोस् : माधव नेपाल

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको कुनै औचित्य नै नभएको बताएका छन् ।

एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले शनिबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाः हालका प्रचलन र उदीयमान चुनौतीहरू’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक भएको बताए । राजतन्त्र चाहिन्छ भन्नेलाई प्रधानमन्त्री नै बन्ने चाहना हो भने चुनावको मैदानमा आउन आग्रह गरे ।

उनले भने, ‘राजतन्त्र फेरि फर्काउने चाहना हो भने यो कदापी सम्भव छैन् । त्यसले केही पार लाग्दैन । कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यत पुष्टि गर्न सकिँदैन । राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक कुरा हो । यदि शासन प्रणाली ठिक तरिकाले चलेको छैन भने नेता भएर आए हुन्छ । जनताकोबीचमा भिजे हुन्छ । चुनाव जितेर राम्रो प्रधानमन्त्रीको विकल्प दिए हुन्छ ।’ 

उनले देशमा निराशाजनक परिस्थिति र चर्को व्यक्तिवाद हावी भएको भन्दै यसलाई चिर्नको लागि हरेक नागरिकले इमानदार भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।  

नेपालले भने, ‘हामीसँग गैरजिम्मेवार प्रवृत्ति बढ्दो छ । आफ्नो हित बाहेक समाज र राष्ट्रको हितको कुनै चिन्ता छैन् । यति चर्को व्यक्तिवाद हावी भएको छ कि त्यसको कुनै जवाफ छैन् । यदि प्रत्येकले इमानदार भएर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने हुन नसक्ने केही छैन् । अहिले हाम्रो देशको परिस्थिति निराशजनक छ । यसलाई चिर्नको लागि हामीले नै प्रयास गर्ने हो । अरु कसैले गरेर हुँदैन, गर्न सक्दैन । प्रत्येक व्यक्तिले आफ्नो तहमा सोच्नुपर्छ । विकल्पको बारेमा सोचेका हौ तर पाएनौँ । त्यस कारण अब विकल्प हामीले दिने हो ।’      

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:२८
Weather Update