News Griha :: न्यूजगृह
आइतबार यी प्रदेशमा वर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह
बिहीबार जुम्लामा भएको हिमपात । तस्बिरः रासस

काठमाडौं आइतबार नेपालका धेरै स्थानहरूमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । मधेश र पूर्वी तराईका जिल्लाहरूमा भने खासै असर पर्नेछैन ।

‘अहिलेको प्रणालीको प्रकृति हेर्दा गत शुक्रबार भएको वर्षा र हिमपात जस्तै हुने देखिन्छ, तर तराई मधेशमा भने गाह्रो छ । भइहालेछ भने कतैकतै छिटपुट मात्र होला,’ मौसमविद् झाले भने । 

अहिले नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली भित्रिएको छ । पानी र हिउँ पार्ने प्रणाली पश्चिम क्षेत्रमा शनिबार नै भित्रिसकेको छ । त्यो विस्तारै फैलिँदै जाने छ र बदली, वर्षा र हिमपात हुने छ । यसको असर सोमबारसम्म देखिने छ । सोमबार साँझदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद् झाले जानकारी दिए ।

जनजीवन प्रभावित हुने

वर्षा र हिमपात ल्याउने मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्ने छ । चिसोका कारण स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्ने सम्भावना छ । त्यसैले सतर्कता अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् ।

तापक्रम घटेर चिसो हुने क्रम शनिबारदेखि नै सुरु भइसकेको छ । जुम्लामा सबैभन्दा कम माइनस ६, जोमसोममा माइनस ५ र जिरीमा माइनस २ डिग्री सेल्सियस छ ।

शनिबार साँझ पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन भएको छ । न्यूनतम तापक्रम सबैभन्दा धेरै जनकपुरमा १० डिग्री सेल्सियस छ । यसअघि बिहीबार पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमासमेत वर्षा र हिमपात भएको थियो । 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १८:५०
Weather Update