News Griha :: न्यूजगृह
‘पूर्वमन्त्रीलाई हतकडी, व्यापारीलाई अस्पताल लैजाने कस्तो थिति?’

काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओलीले चौधरी घरानाका व्यापारी अरुण चौधरीलाई प्रहरी कार्यालयको हिरासतमा नराखी अस्पतालमा राखेको भन्दै आपत्ती जनाएका छन् । शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै अध्यक्ष ओली पूर्वमन्त्री, पूर्वप्रधानमन्त्रीलाई हतकडी लगाएर जेलमा राख्ने तर व्यापारीलाई प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘हिरासतमा को बस्नु पर्ने हो, को बस्न नपर्ने हो? व्यापारी नै समातिँदा हिरासतमा मात्रै होइन जेलमै हाल्यो त, पूर्वमन्त्री, प्रधानमन्त्री भइसकेका मान्छेलाई हतकडी लगाएर र जेलमा राखेर मुद्दा लगाइयो । तर एकजना व्यापारी पक्राउ पर्दा प्रहरी कार्यालयको बाटो हुदैँ अस्पताल लगियो रे । कस्तो थिति हो यो ?’

त्यस्तै, उनले लुम्बिनीको रामग्राम स्तूप निजी कम्पनीलाई दिन लागिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले लुम्बिनीको विकास नभई रामग्राम परियोजना बनाएर भ्रष्ट्राचारको तानाबाना बुनेको आरोप उनले लगाए ।

उनले अघि भने, ‘बैंकको सम्पत्ति राख्ने स्थानमा बुलेट राखियो तर पेस्तोलको खोजी भएन । त्यस्ता मान्छेलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाइयो । त्यस्तो विवादास्पद व्यक्तिलाई किन बनाइयो ? के कारण होला भनेर खोजी गर्दा लुम्बिनीको विकास होइन्, रामग्रामतिरबाट विकास सोझ्याउने धन्दा पो रहेछ ।’ 

सम्पदाको विकासका क्रममा सरकारले भ्रष्टाचारको तानाबाना बुनिएको उनको भनाइ थियो । त्यसैगरी अध्यक्ष ओलीले सत्ताको दुरुपयोग गरेर रेडक्रस, स्काउट जस्ता संस्थाको सम्मेलन हुनमा रोक लगाएको उल्लेख गरे । अध्यक्ष ओलीले सत्ता गठबन्धनभित्रका दलहरू मुलुकको विकासका लागि केही गर्छु भन्ने नभइ भ्रष्टाचार, तस्करी, अयोग्यताको पर्यायवाची भएको आरोप लगाए ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १८:३८
Weather Update