
काठमाडौं— बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अपचलन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।
कारखानाको १० रोपनी जग्गा सीजी ग्रुप अन्तर्गतको एउटा कम्पनीको नाममा नामसारी भएको घटनामा तीन महिना लामो अनुसन्धानपछि सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण थापालाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०४९ सालमा बाँसबारी छालाजुत्ता कारखाना पनि बन्द भएको थियो । पछि चौधरी ग्रुपले कारखाना सञ्चालक समितिबाट निर्णय गराएर १० रोपनी जग्गासहित च्याम्पियन फुटवेयर कम्पनी प्रालिमा परिवर्तन गराएको थियो । २०५४ मा सो जग्गा प्रालिको नाममा नामसारी भएको पाइएको छ । पछि २०७५ देखि उक्त कम्पनी चाँदबाग रेसिडेन्सी प्रालिमा नाममा छ ।
उक्त कम्पनी सुरुमा विनोद चौधरीको परिवारको अधिकांश सदस्यहरूको नाम थियो । अहिले उनका भाइ अरुण चौधरी र श्रीमती शिला चौधरीको नाममा छ । सीआईबीको टोलीले सांसद विनोद चौधरीको समेत खोजी गरिरहेको स्रोतले बताएको छ । उता सीआईबीले व्यवसायी अरुणकुमार चौधरीसँग प्रारम्भिक बयान लिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले चौधरीको बयान लिएका हुन् । सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत बयान लिन सुरु गरिएको जानकारी दिएका छन् । बयानका क्रममा चौधरीले कानुनविपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएको सीआईबी स्रोतले जनाएको छ ।
उक्त प्रकरणमा काठमाडौं महानगरपालिका–२६ का तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेड (पछि प्रालि बनाइएको) का सेयरधनी तथा सञ्चालक ६० वर्षीय अरुणकुमार चौधरीसहित कामपा–९ बस्ने तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष ८० वर्षीय अजितनारायण सिंह थापा, महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रालि तथा सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।