दाङमा जीपले मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु

काठमाडौं— दाङमा शुक्रबार जीपले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–८ बिजौरी बस्ने २७ वर्षीय मोटरसाइकल चालक सुनिल चौधरी छन् ।
यस्तै रुपन्देहीको शुद्धोधन गाउँपालिका– २ निवासी २४ वर्षका जीप चालक आशबिन सुनार घाइते छन् । राप्ती गाउँपालिका– ५ दोलै खोलास्थित पूर्वपश्चिम राजमार्गमा रोल्पाबाट लमही जाँदै गरेको बा१८च ८६१८ नम्बरको जीपले लु३२प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जसबाट मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए । उपचारका लागि लमही अस्पताल पठाइएकोमा शुक्रबार राति ११ बजे उनलाई डाक्टरले मृत घोषणा गरे । यस्तै जीप चालक सुनारको दाहिने आँखामा चोट लागेको छ ।
उनलाई थप उपचारका लागि आँखा अस्पताल, भैरहवा रेफर गरिएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० ०८:४०













