News Griha :: न्यूजगृह
रुसी सेनामा भर्ना भएका श्रीमानको ‘फोन कल’ दुई महिनादेखि कुरिरहेकी छन् टीना

काठमाडौं— रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उनीहरूको तत्काल उद्धार गरिदिनको लागि सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले सरकारलाई दबाब बढाएका हुन् ।

उपस्थित दर्जन बढी पीडित परिवारका सदस्यहरूले सेनामा भर्ना भएका आफ्ना आफन्तलाई नेपाल ल्याइदिन सरकारसँग माग गरेका हुन् । 


उदयपुरबाट दुधे बालक बोकेर काठमाडौं आएकी टीना घिमिरेले श्रीमान पदम घिमिरे दुई महिनादेखि सम्पर्कविहीन भएको उल्लेख गर्दै उद्धारका लागि पहल गरिदिन आग्रह गरिन । 

उनका अनुसार रुसी सेनामा गएका पदमले दुई पटक भाग्ने प्रयास गरेपनि दुवै पटक असफल भएको, पदमलाई रुसी सेनाले फर्काएर लगेपछि दुई महिनादेखि सम्पर्कमा आएका छैनन् । 

‘दुई महिना भैसक्यो उहाँ सम्पर्कमै हुनुहुन्न । उहाँ दुईचोटी भागेको बताउनुहुन्थ्यो । पहिलो पटक भागेको पाँच दिनमा समातेर फिर्ता ल्यायो भनेर क्याम्पबाट मलाई फोन गर्नुभएको थियो । अर्कोचोटी पनि भाग्नुभएको थियो । दुई दिनमै उहाँ समातिनु भयो ।’  त्यसपछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको सम्झँदै उनले भावुक हुँदै थपिन, ‘त्यसपछि राति म ‘वाक’ जान लागेको छु । आएपछि फोन गर्छु भनेर जानुभएको त्यसपछि फोन गर्नुभएको छैन् ।’ अवरुद्ध गला र झरेका आँशुले टीनाको पीडा प्रष्ट देखिन्थ्यो । 

यस्तै, खोटाङकी शिला राईले पनि रुसी सेनामा भर्ना भएका आफ्नो दाइ रवीनकुमार राई घाइते अवस्थामा रहेको जानकारी दिँदै उद्धार गरिदिन आग्रह गरिन् । शिलाको अनुसार उनको दाइ रवीनकुमार २१ दिनदेखि रुसको अस्पतालमा उपचाररत छन् । शिलाले भनिन्, ‘दाइ हामीसँग सम्पर्कमै हुनुहुन्छ । तर, उहाँ हस्पिटलमा हुनुहुन्छ । अडियो कल बाहेक भिडियोमा हेर्न पाएका छैनौ । उहाँ नेपाल आउन चाहनुहुन्छ । मेरो दाइलाई मात्र होइन जतिपनि रसियन आर्मीमा आवद्ध हुनुहुन्छ उहाँहरूलाई सरकारले चाँडोभन्दा चाँडो नेपाल फर्काइदिन अनुरोध गर्छु ।’

यता सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको सुनाए । सात लाख रुपैयाँ खर्च गरेर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका रामकुमार प्रधानसँग अन्तिम पटक असोज २५ गते कुराकानी भएको खड्गीले बताए । त्यसयता उनका सालो सम्पर्कविहीन छन् । 

आफ्नो सालोसँग बङ्करमा बसेका केही नेपाली घाइते भएको उल्लेख गर्दै उनले थपे, ‘एउटै बङ्करमा बसेको उसका साथीहरूलाई बमको छर्रा लागेर घाइते भएकोले उपचार गराइरहेका छन् । मेरो सालो कहाँ गयो भाग्यो कि युक्रेनले समात्यो थाहा छैन ।’ 

रुसी सेनामा भर्ती भएका तर भागेर खोटाङका दुई महिना अघि नेपाल आउन सफल सुमन राईले त्यहाँ करिब १४/१५ हजारको आँकडामा नेपाली भर्ती भएको हुनसक्ने बताएका छन् । आफैँले चारसय बढीको ज्यान गुमाएको देखेको उनको भनाइ छ ।

रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको पत्रकार सम्मेलनमा उनले सुकेधाराको मेनपावरबाट भिजिट भिसामा रुस पुगेकै भोलिपल्ट भर्ना भएको जानकारी दिएका थिए । आफूले एक महिना १८ दिन त्यहाँ काम गरेको उनको भनाई छ । ‘मेरै अगाडि ६ जना मरेको देखेर आएँ । त्यो भन्दा धेरै मरिसकेका छन्’, उनले भने । 

उनले ऋण काढेर रुस जाँदा आठ लाख र भागेर आउँदा तीन लाख रुपैयाँ तिरेको बताए । उनका अनुसार सेनामा भर्ती भैसकेपछि युद्धमा कोही मरे भने उनीहरूलाई त्यसै छाडिन्छ । 

सुमनले भने, ‘नेपाली मरे छाडेर रुसीहरू गाडी लिएर जान्छन् । मंगोलियन, भारतीय र चिनियाँ पनि त्यहाँ छन् ।’  असोज १५ मा रुस पुगेका राई तिहारको अघिल्लो दिन रातो पासपोर्टका लागि ज्यान दिन्न भनेर नेपाल फर्किएको सुनाएका थिए । उनको लटमा भर्ना हुनेहरू आठ सय जना रहेको उनले सुनाए ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १९:५३
Weather Update