
काठमाडौं— नेपाली कांग्रेस संसदीय दलले आगामी संसद् अधिवेशनभर काठमाडौं नछोड्न सांसदहरूलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले आगामी संसद् अधिवेशनभर काठमाडौं नछोड्न सांसदहरूलाई निर्देशन दिएको हो ।
विगतमा संसद्को बैठक तथा समिति बैठकहरूमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएको भन्दै सत्तारुढ दल कांग्रेसले यस अधिवेशनमा भने सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्णय निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनका अनुसार आगामी अधिवेशनमा कांग्रेसका सांसदहरू निरन्तररूपमा सभा र समितिहरूमा उपस्थित हुने र प्रभावकारी ढंगले काम गर्ने बैठकको निर्णय छ । अत्यावश्यक कामबाहेक सांसदहरूलाई काठमाडौं नछोड्न निर्देशन दिइएको उनले बताए । 'संसद् चल्दासम्म राजधानीबाहिर नजानुहोला भन्ने पार्टीको निर्देशन हो । यदि कसैले जानैपर्ने अवस्था भए प्रमुख सचेतकबाट लिखितरूपमा स्वीकृति लिएर मात्रै जान पाउने भन्ने व्यवस्था लागू गर्ने निर्णय भयो,' उनले भने । बैठकले मन्त्रीहरूलाई समेत संसद् र अन्य समितिका बैठकहरूमा अनिवार्य उपस्थित गराउन आग्रह गरेको छ ।
'संघीय शासन प्रणालीलाई सुदृढ बनाउनका लागि संविधान कार्यान्वयनसँग सम्बन्धित धेरै विधेयकहरू संसद्मा प्रस्तुत हुन बाँकी छन् । ती विधेयकहरूलाई चाँडोभन्दा चाँडो प्रस्तुत गर्नका लागि सरकारलाई आग्रह गर्ने र संसद्मा प्रस्तुत भएका विधेयकहरूलाई यसै अधिवेशनबाट पारित गर्नका लागि तदारुकताका साथ सहजीकरण गर्ने निर्णय भएको छ,' बैठकपछि प्रमुख सचेतक लेखकले भने, 'संसद्का गतिविधिलाई व्यवस्थित गर्न र संसद्लाई प्रभावकारी बनाउन अरु राजनीतिक दलहरूलाई पनि अपिल गर्ने निर्णय गरेका छौँ ।'
उनका अनुसार संसद्का बैठक र समितिमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ । तर विगतमा त्यस्तो नभएको गुनासो आउने गरेकोमा अब त्यस्तो गुनासो आउन नदिन सरकारलाई आग्रह गर्ने निर्णय भएको छ । बैठकले दलको विधान बमोजिम संसदीय समितिका लागि संयोजनहरूसमेत तोकेको छ । जसअनुसार अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौडेल र कानुन, न्याय तथा मानव अधिकार समितिमा नागिना यादवलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विक, राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी बोखिम लिम्बू र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको छ ।
बैठक संसदीय दल कार्यसमितिको निर्वाचन गर्न आग्रह समेत गरेको छ । हाल सभापति शेरबहादुर देउवा नै दलको नेता छन् । विधानअनुसार महामन्त्रीहरु स्वत: दलको कार्यसमितिको सदस्य हुन्छन् । त्यसबाहेक सदस्यहरू चयनका लागि निर्वाचन कार्यक्रम तोकिदिन आग्रह गर्ने निर्णय भएको प्रमुख सचेतक लेखकले बताए ।