News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एमाले नेता नेम्वाङलाई ‘ब्रेन स्ट्रोक’, आईसीयूमा उपचार हुँदै 

काठमाडौं— पूर्वमन्त्री तथा नेकपा एमालेका नेता वसन्त नेम्वाङको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । एमाले ताप्लेजुङको सचिवालय बैठकका लागि फुङलिङ पुगेका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङ बसेकै ठाउँमा गत बुधबार एक्कासि ढलेका थिए ।

फुङलिङमा एक्कासि बिरामी परेपछि उनलाई हेलिकप्टरमार्फत मेडिसिटी ल्याइएको थियो । नेम्वाङको सचिवालयका अनुसार अहिले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ ।  ‘उहाँको हिजोभन्दा आज सेन्स (चेत) राम्रो हुँदै गएको छ,’ स्वकीय सचिव गणेश योञ्जनले भने, ‘शरीरको दायाँ भाग चलिरहेको छैन ।’

Prabhu Bank

नेम्वाङको उपचार मेडिसिटीको आईसीयूमा भइरहेको पनि उनले बताए । ‘अहिले आईसीयूमा  उपचार भइरहेको छ,’ उनले भने, ‘केही सुधार भएपछि क्याबिनमा राख्ने गरी चिकित्सकसँग कुराकानी भइरहेको छ ।’

चिकित्सकहरूले कम्तीमा ७२ घन्टा आईसीयूमै उपचार गर्नुपर्ने बताएका छन् । नेम्वाङलाई बाहिरको खाना दिइएको छैन । गत बुधबार खाना खाएर फुङलिङस्थित पाथिभरा गेस्ट हाउस मै बसेको ठाउँबाट उठ्न नसकेपछि नेम्वाङलाई सुरुमा जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेम्वाङलाई हेलिकप्टरमार्फत ल्याइएको हो ।

नेम्वाङ नेकपा एमाले ताप्लेजुङका इन्चार्ज हुन् । उनी पाँचथरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पनि हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार नेम्वाङको एमआरआई गरिएको थियो । एमआरआई रिपोर्टमा उनको मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको देखियो । जसलाई चिकित्सकले ‘ब्रेन स्ट्रोक’ बताएका थिए । 

स्वकीय सचिव योञ्जनका अनुसार ‘ब्रेन स्ट्रोक’ पुष्टि भएपछि उपचार थालिएको थियो । बिरामी परेपछि नेम्वाङको बोली पनि बन्द भएको थियो । योञ्जनका अनुसार अहिले केही मात्रामा बोली सुरु भएको छ। ‘उहाँको सेन्स पनि राम्रो हुँदै गएको छ,’ उनले भने । चिकित्सकको टोलीले उनलाई क्याथल्याबमा राखेर मेकानिकल थ्रम्बेक्टोमी गरेको थियो ।  

सामान्य भाषामा भन्दा मेकानिकल थ्रम्बेक्टोमी भनेको शरीरको नसाबाट तार छिराएर रगत जमेको स्थानमा पुगी त्यहाँको रगत झिक्ने प्रक्रिया हो । यो विधिबाट शल्यक्रिया नै नगरी जमेको रगत झिक्न सकिन्छ। नेम्वाङका अन्य स्वास्थ्य रिपोर्टहरू आउने क्रममा छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १२:५५
Weather Update