News Griha :: न्यूजगृह
रुसमा हुने मानवतस्करी रोक्न श्रममन्त्री भण्डारीको ध्यानाकर्षण 

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरू गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको  सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रम पनि बढेको भन्दै  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ । 

डा. बद्री केसी अध्यक्ष रहेको समूहको नेतृत्वमा मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जानेक्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो । संघले विगतदेखि रसियामा काम गर्दै आएका नेपालीहरूको हकमा श्रम नवीकरण र अध्यागमनमा भएको अवरोध हटाई उनीहरूलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो ।

संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सूचना मस्कोस्थित नेपाली दूतावासलाई दिई मानव तस्करीलाई कमगर्न सहयोग गरेको जानकारी दिएको छ । सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समयदेखि रसियामा  स्थायी रुपमा बसोबास गर्ने, अध्ययन तथा व्यवसाय गर्ने नेपालीहरूको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ । यसरी बसोबास गर्दै  आएका नेपालीहरू छुट्टिमा नेपाल आउँदा अध्यागमनबाट रुस जाने नेपालीहरूलाई रोक्ने, श्रम स्वीकृति नदिने जस्ता घटनाहरू भइरहेकोप्रतिसमेत संघले ध्यानाकर्षण गराएको छ ।  

भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरूसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।   

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ११:५५
Weather Update