News Griha :: न्यूजगृह
काठमाडौंबाट बाजुरा जाँदै गरेको बस सुनवलमा टिपरसँग ठोक्कियो, १७ जना घाइते 
Photo: DPO/West Nawalparasi

काठमाडौं—  पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् ।  

बिहीबार राति पौने १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ गैरे पेट्रोल पम्प नजिकै काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प्र.प ०१–००१ ख ३४८० नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो । 

पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार बसमा चालकसहित ३५ जना सवार थिए । दुर्घटना हुँदा १७ जना घाइते भएको डीएसपी बोहोराले जानकारी दिए ।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने ७ जना मध्यम र ९ जना सामान्य घाइते छन् । 

उनीहरूको रूपन्देहीको देवदह मेडिकल कलेज, चौराहा हस्पिटल बुटवल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी बोहोराले जानकारी दिए ।

टिपर चालक नवलपरासी सुनवल नगरपालिका- १० गैँडाखालका २८ वर्षीय सुनिल दर्जीलाई नियन्त्रणमा लिइएको  डीएसपी बोहोराले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०९:३१
Weather Update