News Griha :: न्यूजगृह
व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति 

काठमाडौं— बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका व्यापारी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

चौधरीलाई बिहीबार सीआईबीले पक्राउ गरेर हिरासतमा राख्ने अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरीलाई चार दिन हिरासतमा राख्नका लागि म्याद थप गरेको हो ।

प्रहरीले चौधरीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट म्याद मागेको थियो । चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको थियो । उनलाई सीआईबी हिरासतमा राखिएको छ । पक्राउ परेका चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

प्रहरीले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको आरोपमा अजितनारायणसिंह थापालाई पनि पक्राउ गरेको थियो । थापा बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १९:०७
Weather Update