
काठमाडौं— बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी र अजितनारायण सिंह थापा पक्राउ लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका छन् ।
चौधरी लगायत पक्राउ लगत्तै राष्ट्रपतिका सल्लाहकार सुनिल थापा बिहीबार दिउँसो सीआईबी कार्यालय लाजिम्पाट पुगेका थिए । अनुसन्धान प्रभावित गर्नेगरी राष्ट्रपतिका सल्लाहकार थापा आएपछि सीआईबीका अधिकारीहरूले अस्वाभाविक मानेका छन् । दिउँसो साढे ३ बजेतिर पुगेका थापा झण्डै आधा घण्टा सीआईबी प्रमुख किरण बज्राचार्यको कार्यकक्षमा बसेका थिए ।
‘गम्भीर केसमा पक्राउ परेका व्यक्तिको बचाउका लागि राष्ट्रपतिका सल्लाहकार आउनु स्वाभाविक होइन,’ प्रहरीका एक उच्च अधिकारीले भने ।
तर सुनिल थापाले भने काकालाई भेट्न मात्र गएको दाबी गरे । ‘काका (अजितनारायण सिंह थापा)लाई भेट्न गएको हो, अदालत लगेको भनेपछि कुरा नभई फर्किएँ’ थापाले भने ।
थापाले पक्राउ परेका अजितनारायण सिंह थापाको बारेमा धेरै चासो राखेको स्रोतले बतायो । सुनिल थापालाई राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त गर्दा पनि विवाद भएको थियो ।
सुनिल पूर्वपञ्चका नेता एवं राप्रपाका संस्थापक सूर्यबहादुर थापाका छोरा हुन् । सूर्यबहादुर थापा प्रधानमन्त्री रहेको समयमा चौधरी समूहले राज्य संयन्त्रलाई प्रभावमा पारेर अस्वाभाविक लाभ लिएको थियो ।













