News Griha :: न्यूजगृह
युरोप पठाइदिन्छु भन्दै ६ सय जनाबाट करोडौं रकम ठगी गर्ने पक्राउ

काठमाडौं— युरोप पठाउने प्रलोभन देखाई ६ सयभन्दा धेरै जनाबाट करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर इमाडोल बस्ने वर्ष ३२ का विकास वाइबा भन्ने सुजन तामाङ छन् ।

बालाजु चोकमा युरो विङ्स् शिक्षा परामर्श संस्था सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसियालगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करोडौं रकम ठगी गरेको कसूरमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले बताएका छन् । 

उनका अनुसार अनुसन्धानको क्रममा तामाङ २०७३ सालबाट आयुष मेनपावर लगायत विभिन्न मेनपावरहरूमा एजेन्टको रूपमा काम गर्न थालेका थिए । करिब पाँच वर्ष एजेन्टको कामगरी विभिन्न व्यक्तिहरूलाई खाडी मुलुकमा पठाउन सुरु गरेका थिए ।

उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनी रकम लिई नक्कली भिसा देखाई जागिर छोड्न लगाएको खुल्न आएको छ । विकास वाइबाको नामबाट बैंक खाता खोली आफैँले हस्ताक्षर गरी बैंक/वित्तिय तथा अन्य सम्पूर्ण कारोबार गर्ने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । 

२०७७ सालमा ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा फरार रहेका तामाङलाई कार्यालयबाट खटिएको विशेष टोलीले माघ १७ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

६ सयजना भन्दा धेरै सर्वसाधारण व्यक्तिहरूबाट ५० हजार देखि पाँच लाख रुपैयाँसम्म रकम लिएको पनि अनुसन्धानबाट देखिएको छ ।

उक्त ठगी गरेको रकमबाट चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर, बसुन्धारामा ५० प्रतिशत सेयर अर्थात ५० लाख रुपैयाँ लगानी गरेको, ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको, सुवास तामाङ (भाई) को खातामा विभिन्न मितिमा १५ लाख ५० हजार जम्मा गरेको, जल विद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, पाँच लाखको सुनको ब्रास्लेट खरिद गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ७० जनाको मुद्दा दर्ता भई तीन करोड २५ लाख २२ हजार बिगो देखिएको अन्य मुद्दा दर्ताको क्रममा रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १६:११
Weather Update