
काठमाडौं— विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउपछि सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ ।
थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दियो । बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यसअघि अरुण चौधरीलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्याएको थियो ।
सीआईबीका एसएसपी दिनेश आचार्यको कमान्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गाका बारेमा अनुसन्धान भइरहेको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ । सोही कसुरमा उनीहरूलाई पक्राउ गरिएको सीआईबी स्रोतले पुष्टि गर्यो ।
चौधरी ग्रुपले च्याम्पियन शू फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ । उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरुणकुमार चौधरी लगायत रहेका थिए । कुनै समय उक्त जग्गा दिएबापत बाँसबारी छाला तथा जुत्ता कारखाना समेत सेयर सदस्य बनेको थियो ।
बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा उक्त शू फ्याक्ट्रीले लगेको कुरा डा. भगवान कोइरालाले आफ्नो पुस्तक हृदयमा उल्लेख गरेका थिए । त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो ।













