
काठमाडौं— थाइल्यान्डको बैंकक उड्न लागेका यात्रुको पैसा चोरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लोडर पक्राउ परेका छन् ।
नेपाल एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महाबु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनार पक्राउ परेका हुन् ।
उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । याङ्गहाङले आफ्नो थाइ भाट चोरी भएको निवेदन दिए पश्चात सीसीटिभी समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाइ भाट चोरी गरेको खुल्न आएको हो ।
उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाइ भाट १९ हजार ४ सय समेत बरामद भएको छ । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।













