News Griha :: न्यूजगृह
प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री ?
माधवकुमार नेपाल । फाइल तस्बिर

दाङ— नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सालसम्म टिक्ने दाबी गरेका छन् । घोराहीमा बुधबार पत्रकारसँग पूर्वगृहमन्त्रीसमेत रहेका निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए ।

उनले सहमतिअनुसार पहिलो चरणमा देशको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेको र यसपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने खुलासा गरे । अबको एक वर्षपछि नेपालको पालो आउने उनले ठोकुवा गरेका हुन् ।

पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्ने नेता निधिले बताए । २०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए ।

अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग बाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्ने उनको भनाइ छ ।

‘अहिलेको गठबन्धन भत्काउन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुजस्तै हो’, नेता निधिले भने,‘ सत्ता साझेदारबीच भएको सहमति कार्यान्वयनको बाटोमा सबै इमान्दारपूर्वक लाग्नुपर्छ । त्यसैले गठबन्धनको विरोध गर्ने होइन, कसरी आगामी निर्वाचनसम्म जान सकिन्छ, त्यसतर्फ लाग्ने हो ।’

सहमतिअनुसार प्रधानमन्त्री बन्ने आफ्नो पालो नआउला कि भनेर पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष नेपाल सशंकित देखिएका छन् । यसबीच कांग्रेस नेता निधिले वर्तमान प्रधानमन्त्री प्रचण्डको कार्यकालपछि उनी प्रधानमन्त्री बन्ने खुलासा गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:३३
Weather Update