News Griha :: न्यूजगृह
सिंहदरबार र महानगर दुवै सच्चिनुपर्छ : नेता कोइराला

काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सिंहदरबारको फोहोर उठाउँदैन भन्नु काठमाडौं महानगरपालिकाको अराजकता भएको टिप्पणी गरेका गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सिंहदरबारको फोहोर नउठेको प्रसङ्गमाथि टिप्पणी गर्दै नेता कोइरालाले सिंहदरबार र काठमाडौँ महानगरपालिका दुवै सच्चिनुपर्ने बताएका छन् । 

जिम्मेवार निकायको अराजक व्यवहारको विरोध गर्नै पर्ने भन्दै कोइरालाले सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्न नपाइने बताएका छन् ।

त्यस्तो भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब भएको भन्दै उनले दुवै सच्चिनुपर्ने उल्लेख गरेका छन् । 'कामपाले सिंहदरबार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो । जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ', नेता कोइरालाले लेखेका छन्, 'अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो । दुवै सच्चिनु पर्छ ।'

आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिंहदरबार, बालुवाटार र शीतल निवासका फोहोर नउठाउने बताएसँगै अहिले त्यहाँको फोहोर उठेको छैन । सोही प्रसङ्गलाई लिएर नेता कोइरालाले सामाजिक सञ्जालमार्फत सिंहदरबार र काठमाडौँ महानगर दुवै सच्चिनुपर्ने बताएका हुन् ।

महानगर प्रमुख बालेन अराजक बन्दै गएको भन्दै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी बोध गरी काम गर्न उनलाई निर्देशनसमेत दिएको थियो । प्रमुख बालेनले केन्द्रीय सरकारले आफूलाई सहयोग नगरेको बताउँदै आइरहेका छन् ।

बिहीबार पनि प्रमुख बालेनले सामाजिक सञ्जालमार्फत नेताहरूलाई काठमाडौंको हितमा काम नगरे सिंहदरबार अरू पालिकामा सार्न अनुरोध गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १५:२०
Weather Update