
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापिकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको बताएका छन् । उनले यस्तो बेला नेपालका विश्वविद्यालयहरू भने आर्थिक र भौतिक अभाव झेलिरहेको बारेसमेत आफू जानकार रहेको बताए ।
राजर्षिजनक विश्वविद्यालयको ७औँ सभामा प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक अवस्थामा सुधार आउने बित्तिकै विश्वविद्यालयहरूको पूर्वाधार सुधारका लागि प्राथमिकताका साथ खर्च गरिने बताए ।
‘विश्वव्यापिकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा हाम्रा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधारसहित नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्नेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘हाम्रा विश्वविद्यालयहरूको आफ्नै भौतिक सम्पत्तिको कमी छ, त्यहीकारण शैक्षिक कार्यक्रमहरू सञ्चालनमा कठिनाइ भएको विषयमा समेत म जानकार छु । आफ्नै जग्गा र भवन पूर्वाधारको अभावमा तपाईँहरूले झेल्नुपरेका कठिनाइहरू अर्थतन्त्रमा आउने सुधारसँगै क्रमश: सम्बोधन गरिने विश्वास पनि दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री दाहालले मधेस प्रदेशलाई पुन: ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीति रहेको बताए । ‘यस संस्थाबाट बाहिर निस्कने प्रत्येक स्नातकको उपलब्धि र सफलताहरूमा नै हाम्रो शिक्षाको वर्तमान तस्वीर र भविष्यको दिशा अन्तर्निहित रहन्छ । प्राचीन ज्ञान भण्डारका दृष्टिले विश्वमै अनुपम हाम्रो शिक्षा र शिक्षा पद्धतिलाई समायानुकुल परिष्करण गर्दै राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको हाम्रो प्रमुख कार्यभार र चुनौती पनि हो,’ प्रधानमन्त्री दाहालले भने ।













