News Griha :: न्यूजगृह
पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा पानी पर्ने सम्भावना कति?
जुम्लामा परेको हिउँ । फोटो : रासस

काठमाडौं— पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भइरहेको हो ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात पनि भएको छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानहरूमा भने हुस्सु लागेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । काठमाडौंमा भने वर्षाको कम सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

jumla-himpat-1-1706762035.jpg
जुम्लामा परेको हिउँ । फोटो : रासस

मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिए अनुसार आगामी २४ घण्टा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहने छ । सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
राष्ट्रिय समाचार समिति राससका अनुसार जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।

हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलङ्गासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको समाचारमा उल्लेख छ । 

humla-himpat-3-1706762091.jpg
हुम्लामा बुधबार राति भएको हिमपात । फोटो: रासस 

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले बताएकी छन् ।

माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने चिन्तामा किसानहरू थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ । स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ ।

humla-himpat-2-1706762091.jpg
हुम्लामा बुधबार राति भएको हिमपात । फोटो: रासस । 

 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १०:२१
Weather Update