News Griha :: न्यूजगृह
पश्चिमी वायुको असर, यी भागमा आज हल्का वर्षादेखि हिमपात

काठमाडौं— लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ । मध्य तथा पूर्वी  तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी केही भागमा फाटफुटदेखि हल्का वर्षाको अनुमान गरिएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भूभागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव रहँदा देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको हो । 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०६:२१
Weather Update