News Griha :: न्यूजगृह
विमानस्थल कुटपिट प्रकरण : असईलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाही सिफारिस

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको कुटपिट प्रकरणमा छानबिन समितिले प्रतिवेदन बुझाएको छ । 

छानबिन समितिका संयोजक थानेश्वर गौतमले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा विमानस्थलमा कार्यरत नेपाल प्रहरीका असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको छ भने अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।

मोक्तानलाई हटाएर गृह मन्त्रालयमा तानी आचरणसम्बन्धी कारबाही गर्नसमेत सिफारिस गरिएको छ । छानविन समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र गृह मन्त्रालयको सीमा तथा अध्यामगन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए ।

घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालोपट्टी बाँधेर आन्दोलित थिए । घटनामा संलग्न प्रहरीहरूलाई अध्यागमनको उक्त चेकजाँच प्वाइन्टबाट पहिले नै अन्यत्र सारिएको छ । गत आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारीसँगको झडपमा देखिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको बताएका थिए ।

आइतबार विभिन्न दलनिकट पाँच कर्मचारी सङ्गठनका नेताहरू प्रहरीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई दबाब दिन पुगेका थिए । तर गृहमन्त्री श्रेष्ठले छानबिन समितिको प्रतिवेदन आएपछि आवश्यक कारबाही अघि बढाउने तर अहिले नै निलम्बन गर्न नसकिने जवाफ दिएका थिए । 

गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत मोक्तानलाई प्रहरीले चेकजाँच गर्दा कुटाकुट भएको थियो ।  त्यसक्रममा मोक्तानले प्रहरीलाई लात्ती हानेका थिए । मोक्तानले लात्ती हानेपछि त्यहाँ तैनाथ प्रहरीहरू मोक्तानमाथि खनिएका थिए । प्रहरीले भने ड्युटीमा खटिएका जवान रविरञ्जन गुप्तालाई मोक्तानले आक्रमण गरेपछि अवस्था बिग्रिएको बताइरहेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०६:११
Weather Update