
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार तत्काल विस्तार नहुने भएको छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भागमा परेको ५ मन्त्री छनौट हुन बाँकी छ । कांग्रेसले मन्त्रीहरूको नाम दिएमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले तत्काल मन्त्रिपरिषद्को विस्तार नहुने बताए । उनले निर्वाचन अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम रहेको प्रतिक्रिया समेत दिए ।
नेता शेखर कोइराला समूहको भागमा परेको तीन मन्त्री र १ राज्यमन्त्रीको नाम आउन बाँकी रहेको समेत स्वकीय सचिव देउवाले बताए । उनले भने, 'तत्काल मन्त्रिपरिषद् विस्तारको सम्भावना छैन । निर्वाचनपछि हुन्छ होला ।'
उनले कांग्रेस नेता शेखर समूहबाट मन्त्रीहरूको नाम नआएको समेत बताए । देउवाले भने, 'उताबाट मन्त्रीहरूको नाम आएको छैन । भोलिसम्म टुंगिन्छ होला ।'
कांग्रेसले आन्तरिक विवाद मिलाएर पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नाम लगभग टुंगो लगाएको छ । संस्थापन इतर समूहबाट उपसभापति धनराज गुरुङ, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य मन्त्री बन्ने टुंगो लागेको छ । त्यस्तै संस्थापन समूहबाट एनपी साउद र मोहनबहादुर बस्नेतको नाम टुंगिएको छ । तर यी नामहरू कांग्रेसले प्रधानमन्त्रीलाई बुझाइसकेका भने छैनन् ।
यसअघि सम्मानजनक उपस्थिति नभएको भन्दै शेखर समूहले मन्त्रीहरूको नाम दिएको थिएन । यो समूहले पार्टीभित्र तीन मन्त्री पाउनुपर्ने माग गर्दै आएको थियो ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिएपछि १७ चैतमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअन्तर्गत कांग्रेसको भागमा परेको ८ मन्त्रीमध्ये पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरुङ सहरी विकासमन्त्री नियुक्त भएका छन् ।
दोस्रोचरणमा कांग्रेसले पार्टीबाट मन्त्री बन्नेहरूको नाम दिएपछि मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।













