News Griha :: न्यूजगृह
डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक : सभापति लामिछाने 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) 'आतङ्क'बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताएका छन् । 

सिंहदरबारमा बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

राष्ट्रिय गौरवको आयोजनामासमेत कपीपेस्ट भएको भन्दै डीपीआर आतङ्कबाट बाहिर निस्केर साँच्चैको अनुगमन र निर्माणको काममा प्रवेश गर्न आवश्यक रहेको उनले बताए । 

उनले भने, ‘समय र लागत मात्र नभएर गुणस्तर हेर्ने हामीले कहिले हो? डीपीआर बनाउने भनेपछि त्यसमा त पैसा निस्कन्छ । यो डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्नुपर्यो । कस्ताकस्ता राष्ट्रिय गौरवको आयोजनामा कपीपेस्ट भएको सुनेका छौं । डीपीआर आतङ्कबाट बाहिर निस्केर साँच्चै अनुगमन र निर्माणको काममा कहिले प्रवेश गछौँ ?’ 

अनुगमन गर्ने प्रभावकारिता, त्यसमा प्राविधिक पक्ष र त्यसले औँल्याएका विषयहरूमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । सभापति लामिछानेले अनुगमनकर्ताको मापदण्ड केके हो र देखिएको त्रुटि सच्याउने उपाय के हो त्यसको खोजी गर्नुपर्ने बताए । 

उनले भने, ‘अनुगमन गर्ने, त्यसमा प्राविधिक पक्ष र त्यसले औँल्याएका विषयहरूमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्न सक्ने क्षमता हुने छ कि छैन, यो महत्वपूर्ण कुरा हो । अनुरोध गर्न चाहन्छु, अनुगमन कसले गर्ने, अनुगमनकर्ताको मापदण्ड केके हो ? देखिएको त्रुटि सच्याउने उपाय के हो : यो महत्वपूर्ण छ ।’

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:२०
Weather Update