-1706622735.jpg)
काठमाडौं— संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले संस्कृतिसँग जोडिएकाले बाँदर निकासी गर्न नमिल्ने बताएका छन् । समातेर निकासी गर्दैमा पनि समस्याले निकास नपाउने उनको भनाइ छ ।
राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा उनले समातेर निकासी गर्दैमा मात्र बाँदरको उपद्रो नरोकिने भएकाले विकल्प खोज्नुपर्ने बताए । संस्कृतिसँग जोडिएकाले बाँदर निकासी नेपाली धर्मसंस्कृतिविरुद्ध हुने तर्क उनले गरे ।
उनले भने, ‘बाँदर त निकासी नै गर्नुपर्छ भन्ने कुरा आयो, नगरी त भएन रे । मैले भने तपाईँहरूलाई चेलिबेटी निकासी गरेर भएन मूर्तिहरू निकासी गरेर पुगेन । धर्म संस्कृतिसँग सम्बन्धित बाँदरलाई निकासी गर्ने विचार कसरी आयो? के सय वटा बाँदर निकासी गरेर बाँदर आक्रमण कम हुन्छ? यदि साँच्चीकै दुःख दिन्छ भने मान्नुहोस् समस्या छैन । तर, जिउँदो बाँदरलाई ६ महिनासम्म उल्टो पारेर औषधि जसको २५ हजार मात्र पाउँछौँ । त्यसको लागि निकासी गर्ने हाम्रो धर्मसंस्कृति मास्ने काममा लाग्नु हुँदैन ।’

उनले संरक्षित जनावरलाई मार्न पाउने नेपालको विद्यमान कानुन रहेको भन्दै सरकारले चाह्यो भने बाँदरलाई मारेर यसको निकास दिन सक्ने बताए । ‘नेपालमा पटकपटक बाँदरले नोक्सान गरेको कुरा उठ्ने गरेको छ । बाँदर मारेर चीन निकासी गरौँ न सुकुटी त्यहाँ बिक्छ भन्ने कुरा आयो, त्यो पनि ठिकै लाग्यो एक समय त । तर बाँदर संरक्षित जनावर होइन । संरक्षित सूचीमा परेका जनावरमा बाँदर पर्दैन । संरक्षित जनावरलाई मात्रै मार्न पाउने नेपालको विद्यमान कानुन छैन,’ उनले भने, ‘सरकारले चाह्यो भने यसको निकास दिन सक्छ । यसले दुःख दिएर मार्नुपर्यो भन्ने कुरा उठ्यो भने त्यसलाई सरकारले निकास दिन सक्छ । बाँदरको निकासी गरेर बाँदर आक्रमण कम हुने होइन ।’
उनले बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनुपर्ने धारणा राखे । मानव र वन्यजन्तुका बीचमा द्वन्द्व बढ्दै गएको अवस्थामा संवेदनशीलता आवश्यक रहेको उनले बताए ।













