
विराटनगर— ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको स्थानीयले विरोध गरेका छन् । पाथीभरामा केबलकार बनाउने प्रक्रिया सुरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीयले यसकाविरुद्ध पटकपटक प्रदर्शन समेत गर्दै आएका छन् ।
पछिल्लो पटक सोमबार पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा विरोध प्रदर्शन गरिएको छ । ‘मुन्धुम आस्थाको पवित्र स्थल’ भएको भन्दै उनीहरूले त्यस क्षेत्रमा केबलकार निर्माण गरिनु नहुने बताउँदै आएका छन् ।
प्रकृति मास्न नपाइने, पाथीभरालाई यथास्थितिमा राख्नुपर्ने, पाथीभराको नाम मुक्कुमलुङ हुनुपर्ने, आईएलओ १६९ पालना गर्नुपर्ने जस्ता माग उनीहरूको छ । पाथीभरा जाने बाटोमा पर्ने काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबलकार निर्माणका लागि पाथीभरा केबलकार निर्माण प्रालिले प्रारम्भिक प्रक्रिया पूरा गरिसकेको छ । निर्माणका लागि अब रूख कटानलगायत काम अघि बढाउने तयारी गरिएको छ ।
उक्त कम्पनीको नेतृत्व उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले गरेका छन् । केबलकार बनाउनका लागि फुङलिङ नगरपालिकाले अनुमति दिइसकेको छ ।
पाथीभरामा केबलकार बन्नुपर्छ भन्ने पक्षमा पनि कतिपय स्थानीय देखिएका छन् । स्थानीय अशोक खतिवडा केबलकार निर्माण भए वृद्धवृद्धा र अशक्तहरू पनि पाथीभरा दर्शनका लागि आउन सक्ने भएकाले निर्माण हुनु उपयुक्त भएको बताउँछन् ।
केबलकार निर्माण गरे आगन्तुकहरूको संख्या उल्लेख्य बढ्ने र जिल्लाको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ । तर निर्माण गर्दा यहाँको मौलिकता नष्ट नहुनेगरी गर्नुपर्ने उनले बताए ।
निर्माणको विरोधमा उत्रिएकाहरूले भने कुनै हालतमा केबलकार बन्न नदिने बताउँदै आएका छन् । केबलकार निर्माणको कुरामा विवाद र विरोध सुरु भएपछि समन्वयका लागि ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ ।
करिब १२ हजार फिट उचाइमा रहेको पाथीभरामा दर्शन र पूजाअर्चना गर्न जानेहरूको संख्या उल्लेख्य छ । नेपालका मात्र होइन, भारत र भुटानदेखि श्रद्धालुहरू पाथीभरामा पुग्ने गरेका छन् । वर्षैभरि पाथीभरा जाने श्रद्धालुहरूको संख्या उल्लेख्य हुने गरेको छ ।
त्यहाँसम्म जान ठाडो उकालो बाटो हिँड्नुपर्ने हुन्छ । त्यसैले वृद्धवृद्धा र अशक्तहरूलाई पुग्न समस्या हुने गरेको छ ।सामान्यतया ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिनको पैदल यात्रामा पाथीभरा धाम पुग्न सकिन्छ । पाथीभराबाट हिमशृङ्खला र पहाडी क्षेत्रको अवलोकनसमेत गर्न सकिन्छ ।