गुडिरहेको बसमा आगो लाग्यो

काठमाडौं— धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । मंगलबार बिहान करिब साढे २ बजे लु १ ख ९१९० नम्बरको यात्रुवाहक बसमा आगो लागेको प्रहरीले जनाएको छ ।
उक्त बस भैरहवाबाट काठमाडौं आउँदै थियो । गजुरी गाउँपालिका–२, चालिसेमा सो घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार, एक्कासि ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्कीमा आगो लागेको थियो । आगलागीबाट बसको पछाडिको भाग र बायाँ ‘साइड’मा क्षति पुगेको छ ।
आगलागीका कारण बस नचल्ने अवस्थामा पुगेको छ । डिक्कीमा राखिएको सामान जलेर क्षति भएको छ । यात्रु कसैलाई केही नभएको र आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० ११:०१













