News Griha :: न्यूजगृह
मिटरब्याज पीडितलाई न्याय दिलाउन नसकेको भन्दै सिरहाका प्रजिअ र एसपीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं— गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृहमन्त्रालयमा र एसपी टेकुनन्द इवा लिम्बूलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको हो ।

उनीहरूले मिटरब्याज पीडितलाई न्याय दिलाउन प्रभावकारी भूमिका निर्वाह नगरेकाले फिर्ता बोलाइएको गृह मन्त्रालय श्रोतले जनाएको छ । ‘उहाँहरू आर्थिक लेनदेनमा पनि फेयर नभएको पाइयो, मिटर ब्याज पीडितलाई न्याय दिलाउन जे भूमिका हुनुपर्थ्यो, त्यो निर्वाह गर्नु भएन। उल्टै पीडितलाई प्रशासनबाट असहयोग भयो। फिर्ता गर्नुको कारण यही हो,’ गृहका एक अधिकारीले भने । 

गत माघ ४ गते मिटरब्याज पीडित र साहुबीच सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा लफडा भएको थियो । त्यसक्रममा साहुले पीडितलाई न्याय दिन इन्कार गर्दै धम्की दिएको र झगडा हुँदा मिटरब्याज पीडितले साहुलाई कुटपिट गरेका थिए । 

छलफलमा सहभागी कल्याणपुरका अमर यादव लगायतले साहु सूर्यकुमार यादवमाथि हातपात गरेका थिए । त्यसपछि प्रशासनले पीडितलाई नै थुनेर मिटरब्याजको मुद्दामा छलफल गराउन सकेको थिएन । पीडितलाई न्याय दिनुको सट्टा साहुको पक्षपोषण गरेको भन्दै उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०७:१५
Weather Update