News Griha :: न्यूजगृह
दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा हतियारधारी समूहको आक्रमण, नेपाली सैनिक सकुशल  
फाइल तस्बिर ।

काठमाडौं— दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य ६४ जना घाइते छन् । 

बन्दुकधारीको समूहले गत शनिबार श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । उनीहरूले अगोकमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको क्याम्प पनि आक्रमण गरेका थिए । 

सो आक्रमणमा परी शान्ति मिसनमा खटिएका घानाका एक जना सैनिकसहित ५२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएको छ । 

अबेईका लागि संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले पनि बन्दुकधारीको आक्रमणबाट शान्ति मिसनमा खटिएका घानाका एक जना सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । उसले विज्ञप्ति जारी गरेर आक्रमणको निन्दा पनि गरेको छ ।

अबेई सुडान र दक्षिण सुडान दुवैले दाबी गर्दै आएको तर हाल दक्षिण सुडानको नियन्त्रणमा रहेको अ‍ेबई तेल भण्डार भएको क्षेत्र हो । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ यहाँ बन्दुकधारी समूहले आक्रमण गरेको थियो । आक्रमणको कारण खुलेको छैन । तर भूमि विवाद नै कारण हुन सक्ने अनुमान छ ।

साम्प्रदायिक दंगा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘आक्रमणमा घानाको एक सदस्यको मृत्यु भएको जानकारीमा आएको छ । हाम्रो टोली भने सुरक्षित छ,’ प्रवक्ता भण्डारीले भने ।

अबेई क्षेत्रमा जातीय हिंसा सामान्य जस्तै छ । यहाँका आदिवासी समुदायबीच भूमि विवाद पनि छ । सो क्षेत्रका बहुसंख्यक नगोक डिंका समुदायले दक्षिण सुडानको पक्ष लिन्छन् भने मिसेरिया खानाबदोस समुदायले सुडानको पक्ष लिन्छन् । त्यसैले त्यहाँ बेलाबेला हिंसा भइरहन्छ । अफ्रिकी संघले अबेईको विवाद टुंगो लगाउन जनमत सङ्ग्रहको प्रस्ताव गरेको थियो । मतदानमा सहभागिताको विषयमा सहमति नजुटेपछि नतिजा निस्किएको छैन । 

गत वर्ष मार्चमा संयुक्त राष्ट्रसङ्घले अबेई क्षेत्रमा शान्ति सैनिक तैनाथ गरेको थियो । त्यसपछि पनि साम्प्रदायिक हिंसा रोकिएको छैन । सन् २०२३ मा पनि सो क्षेत्रमा आक्रमण हुँदा ३२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १०:५४
Weather Update