News Griha :: न्यूजगृह
महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ, घटनाको कारण ‘अवैध शारीरिक सम्बन्ध’

विराटनगर— साताअघि झापाको अर्जुनधारामा भएको महिलाको हत्यामा संलग्न एक व्यक्तिलाई झापा प्रहरीले सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनमार्फत अभियुक्त चन्द्रप्रसाद प्रसाईँलाई प्रहरीले सार्वजनिक गर्यो । माघ ८ गते बिहान अर्जुनधारा–६ स्थित ब्याडमिन्टन कबर्डहल नजिक ५० वर्षीया माया कार्की पुलामी मगर मृत भेटिएकी थिइन् ।

अनुसन्धानका क्रममा बिर्तामोड–८ घर भएका ४६ वर्षीय प्रसाईँले ती महिलाको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकारेका छन् ।

‘अवैध शारीरिक सम्बन्ध’ का कारण उनले महिलाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

उनीहरूबीच विवाद भएपछि हात हालाहाल समेत भएको र त्यही क्रममा प्रसाईँले ढुङ्गाले पटकपटक मगरको टाउकोमा प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहारपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने शव बारीमा फ्याँकेर प्रसाईँ फरार भएका थिए । खोजीका क्रममा प्रहरीले प्रसाईँलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०६:४५
Weather Update