News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ आइतबार झोँक्किएका छन् । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकबारेको छलफल चलिरहँदा सदस्यहरूले सुटुक्क पास गर्न खोजिएको भनाइ राखेको भन्दै उनी झोँक्किएका हुन् ।

‘मैले यो विषयलाई गम्भीरतापूर्वक लिएको छु । केही नेपाल ऐन संशोधन गर्न बनेको जुन विधेयक छ, त्यो समितिको सम्पत्ति हो र यससम्बन्धी सदस्यहरूले उठाउनु भएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने । विधेयकहरू सुटुक्क पारित नहोस् भनेरै समितिमा छलफलका लागि आइपुग्ने प्रक्रिया रहेको उनले बताए । 

Prabhu Bank

‘यो विधेयक सुटुक्क पास गर्न खोजिएको रहेछ, कति गम्भीर कुरा छ । कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ । नैतिक आचरण गलत गरेको भए, प्रश्न उठाउन हुन्थ्यो तर बिनासित्तिमा भन्ने चलन छ त्यसरी कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ ?,’ उनले भने, ‘माननीय सदस्यहरूमाथि प्रश्न गर्न चाहन्छु, आफ्नो कुरा राख्न नजाने, शब्द नपाएको हो भने नेपाली शब्दकोशमा धेरै शब्दहरू छन् । अनि छिराको के भन्या त्यो ? खुसुक्क छिराए छ रे, सबैको अगाडि राखेर दिनदिनै पढ्नु भनेर सैद्धान्तिक रुपमा दफादफा रुपमा छलफल गर्न लगाएको पनि सुटुक्क छिराए छ पो भन्छ त ?’ 

छलफलका लागि ल्याइएको विधेयकमा सबैले पढेर काम लाग्ने संशोधनको सुझाव दिनुपर्ने उनको भनाइ थियो । ‘हामीलाई राजनीतिमा लागेर कमाउनु छैन । स्पष्ट भन्न चाहन्छु, कमाउने धन्दामा कोको लागेका छन् मलाई थाहा छैन । म कानुनमन्त्रीको कार्यभार सम्हालेको बेलासम्म आइपुग्दा पटक पटक कस्टडी पनि परेको हुँ, जेल पनि परेको हुँ, कुखुरा चोरेर परेको होइन,’ उनले भने, ‘राजनीतिक व्यवस्था परिवर्तन गर्न, प्रजातन्त्र स्थापना कै लागि भनेर सबै गरेको हो । मन्त्री पद आउँछ जान्छ, तर मेरो जुन लक्ष्य छ त्यो भनेको नेपालमा सुशासन स्थापना गर्दै नेपाली जनतालाई सम्पन्न बनाउने हो । म आफ्नो लक्ष्यबाट पछि हट्नेवाला छैन ।’

समितिका केही सदस्यले सरकारको तयारीका विषयमा आफ्ना भनाइ राखेपछि मन्त्री गुरुङ आफ्नो बोल्ने पालोमा जंगिएका थिए । समितिमा उक्त विधेयकको सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल भएको थियो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १७:४६
Weather Update