
काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजुको सपरिवार हत्या भएको घटना स्मरण गरेका छन् । २०५८ जेठ १९ को शुक्रबार भएको राजपरिवारको हत्याकाण्डसँग आफ्नो नाम जोडेर टिकाटिप्पणी भएकोमा शाहले गुनासो गरेका छन् । नागरिक अभिनन्दन ग्रहण वीरगञ्ज पुगेका पूर्वराजा शाहले शनिबार उपस्थित माझ राजदरबार हत्याकाण्डपछि ‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो’ भनेर गुनासो पोखे ।
पूर्वराजा शाहले चित्त दुखाएको भावमा भनेका छन्, ‘आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ। तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ।’
शाहको भनाई छ, ‘जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहार पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’
'आफ्नो पुख्यौँली राजदरबार परित्याग गर्दा २०६५ ज्येष्ठ २९ गते आमसञ्चार माध्यममार्फत मैले भनेको थिएँ– म नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यतिबेलै मैले भनेको थिएँ, ‘स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ,’ उनले स्पष्टीकरणको शैलीमा भने ।
आफ्ना धारणा राख्दै गर्दा पूर्व राजा शाहले परिवर्तन पछिको व्यवस्था र राजकाजप्रति तिव्र असन्तोष प्रकट गर्दै जनतामा चरम निराशा छाएको दावी पनि गरेका छन्। बितेका १५ वर्षपछि आज असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको दावी गर्दै उनले आफ्नो गरिमापूर्ण राजपाठ बाट त्याग्दा आफूले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको उनको भनाई छ। ‘त्यसै आशयअनुरुप मैले चीरकालपर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ।’ भनेर पूर्वराजा शाहले विगतको चर्चा पनि गरेका छन्।
देशको चिन्ता गर्दै उनले भने, ‘हामी देखिरहेका छौं, भोगिरहेछौँ — दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो उर्वर मधेश भूभाग आज उजाड बन्दै गइरहेको छ— यहाँको पोखरी, पानीको श्रोत ट्युबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरुभूमिकरण तिर गइरहेको छ । यो गम्भीर चिन्ताको कुरा हो।’
शाहले भनेका छन्, ‘हामी देशमै छौँ, आज पनि देशमै रहेर हामीले देशको गौरवगाथा गाइरहेका छौँ । अहिले पनि देशको सर्वाङ्गीण उन्नति होस्, भेदभावरहित ढंगले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने नै हाम्रो भावना छ । आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातनदेखि रहिआएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ ।
त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ । यसैमा हाम्रो कल्याण छ।’
नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्षपछि पूर्वराजाको यस्तो अभिव्यक्तिले घट्ना थप रहस्यमय बनाउँदै लगेको छ । हत्याकाण्ड बारे अनेक आशंका र अनुमान गरिएपनि घटनाको दोहोर्याएर कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । वर्षौँसम्म गुजुल्टिएको हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग हुँदै आएको छ ।













