
काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले सरकारमा सहभागी हुने दुई मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
बिहीबार बसेको उक्त समूहको बैठकले कांग्रेस उपसभापति तथा स्याङ्जा २ का सांसद धनराज गुरुङ, मोरङ १ का सांसद डिगबहादुर लिम्बूलाई मन्त्री र कपिलवस्तुका सांसद सुरेन्द्रराज आचार्यलाई राज्यमन्त्री बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
कांग्रेसको भागमा परेको मन्त्रीमध्ये कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । उक्त समूहले एक मन्त्रीको विषयमा भने निर्णय गर्न बाँकी छ ।
उक्त बैठकमा नेता कोइरालाले आफ्नो समूहले पाउने मन्त्रीको संख्याका विषयमा ब्रिफिङ समेत गरेका थिए । उनले बैठकमा मन्त्री संख्याका बारेमा जानकारी गराउँदै १० वैशाखको उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताएका थिए ।
उपनिर्वाचन अघि सरकार बिस्तारमा जोड दिन नहुने उनको भनाइ थियो । बैठकमा कोइरालाले भनेका थिए, 'हामीले तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछौँ । तर, हामी उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुनुपर्छ ।'













