News Griha :: न्यूजगृह
 मन्त्रिपरिषद् विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की, यी हुन् सम्भावित मन्त्री

विराटनगर— मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गरेका छन् । जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । 

मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आइतबार विभिन्न दलका नेताहरूसँग छलफल गर्दैछन् । छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी उनको छ । तत्कालका लागि तीनजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्ति गर्ने तयारीमा कार्की छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्री कार्कीको तयारी छ । 

माओवादी केन्द्रबाट कतिजना मन्त्री बन्ने भन्ने यकिन छैन । एकजना मन्त्री बन्ने अवस्था आए उदयपुरका नारायण बुर्जा मगरले अवसर पाउने सम्भावना छ ।  

माओवादीको भागमा दुईजना पर्ने अवस्थामा भने सङ्खुवासभाका राजेन्द्र कार्की पनि मन्त्री नियुक्त हुन सक्ने सम्भावना छ । सरकारमा माओवादीले थप दुईजना मन्त्री दाबी गर्दै आएको छ । 

कोशी प्रदेश सरकारमा हाल कांग्रेसबाट मुख्यमन्त्री कार्कीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास मन्त्री छन् । 

कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ११:०७
Weather Update