News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाडौं— काठमाडौं उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रम जारी छ ।  यसै क्रममा आज (आइतबार) यो वर्षको अहिलेसम्मकै कम तापक्रम देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् । 

मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस देखिएको हो । ‘उपत्यकाका लागि यो तापक्रम यो वर्षको अहिलेसम्मकै कम तापक्रम हो’, उनले भने ।  यसअघि शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्रीसम्म झरेको थियो। आज त्यसभन्दा पनि तल गएको हो ।

त्यसो आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजेको मापनलाई मानिन्छ । त्यतिबेला तापक्रम अझ घट्ने सम्भावना हुन्छ । न्यूनतम तापक्रम जति घट्यो उति बिहान चिसो बढ्छ । मौसमविद् झाका अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम पनि बिस्तारै घट्ने क्रममा छ ।

यसै क्रममा आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने देखिएको उनले बताए । हिजो शनिबार यहाँको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो । मौसमविद् झाका अनुसार अहिले बिहान काठमाडौं उपत्यकामा हल्का हुस्सु लागेको छ भने भिजिबिलिटी (पारदर्शिता) ४ किलोमिटर छ । यसले यातायातमा खासै असर पार्दैन । 

दिउँसोतिर आकाशमा बादल विकास हुने भए पनि वर्षाको सम्भावना नरहेको र घाम लाग्ने अनुमान गरिएको मौसमविद् झाको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०७:१२
Weather Update