
काठमाडौं— काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।
'यो यस वर्षको हालसम्मकै न्यून तापक्रम हो । आजै तापक्रम पौने ९ बजे योभन्दा पनि कम मापन हुनसक्छ । तर हुन्छ नै भन्ने निश्चित भने हुँदैन,' उनले स्पष्ट पारिन् । बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।
यसैबीच, देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने छैन । आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ ।
देशका तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।