
काठमाडौं— इमेज बचत तथा सहकारी संस्थाकी कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका ३ बस्ने २७ वर्षीया लक्ष्मी सेन सुनार छिन् । उनलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए ।
बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये ५ जना पक्राउ परिसकेका थिए ।
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेको नेपालीसहित ८ जना फरार रहेकोमा खोजी गर्दा सुनार पक्राउ परेको सीआईबीले जनाएको छ । सहकारी अध्यक्ष नेपाली जेठदेखि फरार छन् ।
मेयर नेपाली र उनकी श्रीमती तिब्बती मूलकी छेला नेपालीविरूद्ध यसअघि नै रेड कर्नर नोटिस जारी भए पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् । पक्राउ पुर्जी जारी भएकामध्ये चित्रबहादुर भण्डारी, लालमती रोका, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगरलाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाइसकेको छ ।













