
काठमाडौं— धादिङमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बेनिघाट रोराङ गाउँपालिका–३ मालिङ्गामा बिहीबार राति साढे ९ बजे काठमाडौंबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०२–००३ प ६२०१, बा ८३ प ८९६० नम्बरको मोटरसाइकलसँग विपरित दिशाबाट आँउदै गरेको बा ७४ प ८५५९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा तीन वटै मोटरसाइकलका चालक र पछाडि बसेकाहरू घाइते छन् । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सन्तुलाल जैसवालका अनुसार दुर्घटनामा ६२०१ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको टोखा नगरपालिका–२ का २८ वर्षीय विजय डंगोल र पछाडि सवार ४६ वर्षीय मिना डंगोल घाइते छन् ।
त्यस्तै ८९६० नम्बरको मोटरसाइकलका चालक टोखाकै २८ वर्षीय विवेक तामाङ र पछाडि सवार २४ वर्षीया विनिता डंगोल ८५५९ नम्बरको मोटरसाइकलका चालक धादिङको गजुरी गाउँपालिका–२ का २६ वर्षीय सुदीप खरेल र बेनिघाट रोराङ गाउँपालिका–३ का १५ वर्षीय कर्म प्रजा घाइते छन् ।
खरेलको ललितपुरस्थित बीएन्डबी अस्पतालमा र अन्यको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।













