
काठमाडौं— संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गते सोमबार सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।
संसद् सचिवालय आन्तरिक तयारीमा जुटेको छ । राष्ट्रपति कार्यालयबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वानको पत्र प्राप्त भएको र सोहीअनुसार तयारीमा जुटेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
उनले सांसदहरूलाई बैठकबारे जानकारी गराइएको र आवश्यक थप आन्तरिक एवं प्राविधिक तयारीका कामहरू अगाडि बढाइएको बताए । उनले भने, ‘सभा सञ्चालन सचिवालयभित्रको मुख्य उद्देश्य तथा विषय हो । सभा नभएका बेलामा यहाँ कार्यरत कर्मचारीहरूलाई अन्य जिम्मेवारी दिइएको अवस्था पनि छ । त्यसै कर्मचारी व्यवस्थापन भइहाल्यो । त्यस्तै सभामा प्रवेश गराउने विषयसूचीको तयारीमा जुटेका छौं ।’
कुन कुन विधेयकले संसद्को हिउँदे अधिवेशनमा प्रवेश पाउने कार्यसूची तयार हुँदैछ भन्ने प्रश्नमा उनले भने, ‘नीति निर्माणको एउटा प्रकृया हुन्छ । त्यहीअनुसार विधेयकहरू समितिमा जाने हो । समितिमा छलफलपछि उसले प्रतिवेदन पेस गर्छ, त्यहीअनुसार छलफल हुने भएकाले हामी अनुमानका भरमा वार्षिक क्यालेण्डर तयार गर्छौँ । समितिले प्रतिवेदन के कसरी पेस गर्छ त्यहीअनुसार अगाडि बढ्छ ।’
प्रतिनिधि सभाको कुरा गर्नुपर्दा विषयगत समितिहरूमा हाल १२ वटा विधेयकहरू रहेको उनले बताए । ‘जो अहिले पनि छलफलको क्रममा छन् । समितिहरूबाट ती विधेयकमाथिको प्रतिवेदन सभामा प्रस्तुत हुन आएमा प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक सभामा प्रस्तुत भइसकेकाले त्यसमाथिको छलफल अगाडि बढ्ने उनले बताए । त्यस्तै, निर्माणमुखी सामाग्री व्यवस्थापन तथा नियमन, टीआरसी लगायतका विधेयक छलफलका प्रमुख विषय बन्ने उनको भनाइ छ । हाल समितिमा दर्जन विधेयक विचाराधीन छन् । अधिवेशन चालु भएपछि समितिका सभापतिले प्रतिवेदन संसद्मा प्रस्तुत गर्ने र त्यसपछि पारितको प्रक्रियामा जाने संवैधानिक व्यवस्था छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोग, विद्यालय शिक्षा विधेयक, संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक सँग सम्बन्धित विधेयक समितिमा छलफलकै क्रममा छन् ।
समितिलाई छलफलका लागि समय तोकेर सीमित नगरिएकाले विधेयकहरूको चाङ छ । संसद्मा टेबुल भएका विधेयकमाथि पनि सांसदहरू छलफल गर्न उदासीन देखिन्छन् ।
संसद्ले महत्त्वपूर्ण कानुन बनाउन नसक्नुमा सत्तापक्ष र प्रतिपक्षीले एकले अर्कालाई दोष देखाउने प्रवृत्ति पुरानै हो । विभिन्न बहानामा लामो समयसम्म सदन अवरोध गर्नेदेखि सूचना टाँसेर स्थगित गर्ने थिति नै बसिसकेको छ । संसद्को दोस्रो अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।
दोस्रो अधिवेशनले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक मात्रै पारित ग-यो ।
२०८० कात्तिक १६ सम्म जम्मा १८० दिन सदन चालु रह्यो, जसमध्ये ६१ दिनमा ६५ पटक बैठक बस्दा २४४ घण्टा ५० मिनेट संसदीय काम भएको संसद् सचिवालयको रेकर्डमा छ । यो अवधिमा संसद्ले मिटरब्याज पीडितलाई न्याय दिन ल्याएको विधेयक मात्र संघीय संसद्ले पारित गरेको हो ।
प्रवक्ता गिरीले हिउँदे अधिवेशन सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक, निर्माण सामग्री तथा निर्माण सम्बन्धी विधेयक, आर्थिक उत्तरदायित्व तथा वित्तीय ऐनलाई संशोधन गरेको विधेयक तथा नियमावलीका अन्य कुराहरूमा नै केन्द्रित रहने बताए ।
-नेपाल न्यूज बैंक