धारिलो हतियार प्रहार गरी म्याग्दीमा २२ वर्षीय युवकको हत्या

काठमाडौं— म्याग्दीको बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।
बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।
उनका अनुसार बेनीको न्युरोडमा युवाहरूको समूहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको टाउको र छातीमा चोट लागेको छ ।
थप दुईजना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८० ०६:२०













