
काठमाडौं— क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिइरहेको अवस्थामा पोखराबाट भारतीय मूलका क्यानडेली नागरिकसहितको ‘गिरोह’लाई नै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटी स्थायी वतन भएका ४८८ टारकोभ स्टेट ड्राइभ नर्थ–इस्ट बस्ने ४५ वर्षीय राकेश जैसवाल, भारतको मध्यप्रदेशमा पर्ने भोपाल राज्य नगर स्थायी घर भई क्यानडाको सी ४ कक्डा अभिनाबु होम्स बस्ने ३२ वर्षीय इस्मित कौर, पोखरा–१३, पाटनबेँसीकी ६५ वर्षीया पार्वती सुनार, पोखरा ९, महेन्द्रपुल बस्ने ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका–३ की ३२ वर्षीया सीमा सुनार र काठमाडौं–१४, कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय छन् ।
सो गिरोहले पोखरा–१०, बुद्धचोकमा रहेको होटल टास्कमा बसेर अन्तर्वार्तामा सामेल हुने व्यक्तिहरूसँग सुरुमै २ हजार रुपैयाँ असुल गरेको थियो भने अन्तर्वार्तापछि क्यानडा जान ३० लाख रुपैयाँ लाग्ने बताएको प्रहरीको भनाइ छ ।
‘पार्वती सुनारले मेरो छोरी क्यानडामा छ । सिधै क्यानडाको भिसा निकालिदिन्छन्, राम्रो काममा लगाइदिन्छन्, अन्तर्वार्ता लिन पनि विदेशबाट मान्छे आएका छन् भनेर प्रलोभन देखाउँदै अन्तर्वार्ता लिएको देखियो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले भने, ‘त्यहाँ करिब ५० जना व्यक्ति पुगेका र ३० जनाजतिको अन्तर्वार्ता लिइसकिएको जानकारी आएको छ । अन्तर्वार्ताका लागि सुरुमै २ हजार र पछि पास भए ३० लाख रुपैयाँ लाग्ने भनिएको रहेछ। हामीले उनीहरूलाई मंगलबार पक्राउ गरेका हौँ ।’
पक्राउ परेकाहरूविरुद्ध ठगी मुद्दामा अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान थालिएको डीएसपी विकले बताए ।













