News Griha :: न्यूजगृह
वर्ष २०७९ : रविको उदय र कांग्रेसको ‘ढोक्सा’मा माछा 

काठमाडौं— वर्ष २०७९ निर्वाचनमय बन्यो । हुन त वर्ष २०७८ को अन्त्यबाट नै मुलुक निर्वाचनमा होमिइसकेको थियो । ३० वैशाखमा संविधान जारीपपछिको दोस्रो स्थानीय तह निर्वाचन सम्पन्न भयो । वर्ष २०७९ लाई राजनीतिक उतारचढावको वर्ष भन्न सकिन्छ । यही वर्ष राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उदाए । उनीहरूको संसद्मा बलियो उपस्थिति भयो । २०७९ मा केही चमत्कारीक राजनीतिक घटना भए भने भ्रष्टाचार र अनियमितता जस्ता विषय पनि चर्चा रहे ।

दोस्रो स्थानीय तह निर्वाचन

संघीयता कार्यान्वयनपछि ३० वैशाखमा दोस्रो स्थानीय तहको निर्वाचन एकै चरणमा भयो । स्थानीय तहको निर्वाचनमा मुख्यतः प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो । चुनावमा कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पाँच दलीय सत्ता गठबन्धनले संयुक्त चुनावी तालमेल गरेर स्थानीय तहको भागबन्डा गरेका थिए भने नेकपा एमालेले अधिकांश स्थानीय तहमा गठबन्धनसँग एक्लै भिडेको थियो । केही स्थानीय तहमा एमालेले राप्रपा र लोसपासँग तालमेल गरेको थियो । 

स्थानीय निर्वाचनबाट स्वतन्त्र उम्मेदवारको उदय भयो । काठमाडौं महानगरलगायत मुलुकका केही ठूला उपमहानगर, नगरसहित १३ पालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । काठमाडौं महानग प्रमुखमा बालेन साह, धरान उपमहानगरपालिका प्रमुखमा हर्क साम्पाङ, धनगढी उपमहानगरपालिका प्रमुखमा गोपाल हमाल निर्वाचित भएको विषय सर्वाधिक चर्चाको विषय बन्यो ।

रास्वपा गठन

पूर्वसञ्चारकर्मी रवि लामिछानेले ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे । पार्टी घोषणा गर्दै लामिछानेले आफू व्यवस्था परिवर्तन गर्न नभएर अवस्था परिवर्तन गर्न आएको बताएका थिए । १७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भयो । आयोगले उक्त पार्टीलाई औपचारिक मान्यता दिँदै चुनाव चिह्न ‘गोलाकारभित्र घण्टी’ दिएको थियो । लामिछानेले पार्टीको नाम ‘स्वतन्त्र’ राखेकोप्रति टिकाटिप्पणी समेत भएको थियो । 

प्रतिनिधि सभाको निर्वाचन 

४ मंसिर २०७९ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैपटक सम्पन्न भएको थियो । प्रतिनिधि सभामा रहेको २७५ सीटमध्ये प्रत्यक्षतर्फ निर्वाचित भएर आउने १६५ सीट र समानुपातिकबाट ११० सीट निर्वाचित हुने व्यवस्था छ ।निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी जम्मा ८९ सीट प्राप्त गर्दै नेपाली कांग्रेस पहिलो दल बन्यो भने गत निर्वाचनको विरासत गुमाउँदै एमाले ७९ सीटमा झर्‍यो । गत निर्वाचनमा १२१ सीट सहित पहिलो दल बनेको एमाले यो निर्वाचनमा ४२ सीट गुमाउँदै ७९ मा खुम्चिन पुग्यो र दोस्रो दल भयो । 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा सम्मिलित सत्ता गठबन्धनले चुनावी तालमेल गरेका थिए । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका केही साना दलसँग चुनावी तालमेल गरेको थियो । उक्त निर्वाचनबाट उदाएको रास्वपाले प्रतिनिधि सभामा २० सीट ल्याएर राष्ट्रिय दल बन्यो । तर रास्वपा सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेसँगै उनको सांसद् पद खारेज भएर अहिले उपनिर्वाचन हुने तयारीमा छ ।

यसैगरी यो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राम्रो उपस्थिति जनाउन सफल रह्यो । अघिल्लो निर्वाचनमा १ सीटमा सीमित राप्रपाले यो निर्वाचनमा ७ सीट प्रत्यक्षसहित १४ सीट ल्याएर प्रतिनिधि सभामा बलियो उपस्थिति जनाएको छ । त्यस्तै यो निर्वाचनबाट डा.सीके राउत नेतृत्वको जनमत पार्टी पनि राष्ट्रिय दलको रूपमा उदायो । जनमतले १ प्रत्यक्षसहित प्रतिनिधि सभामा ६ सीट ल्याउन सफल भएको छ । 

२०७४ सालको निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका पाँच दलमध्ये २०७९ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) को नाममा रहेको अहिलेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रिय दलको हैसियत गुमायो । त्यस्तै गत निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनमा रहेका पाँच दलमध्ये लोसपा र एमालेसँग छुट्टीएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि ३ प्रशित थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेनन् ।

रवि लामिछानेको उदय र बहिर्गमन

छोटो समयमै रवि लामिछानेले राजनीतिमा चामत्कारिक उपस्थिति जनाउन सफल रहे । पार्टी निर्माणको ५ महिनामै लामिछानेको पार्टीले प्रतिनिधि सभामा २० सीट ल्याउन सफल रह्यो ।

निर्वाचनपश्चात् १० पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरिन् । नेकपा एमाले नेतृत्वको गठबन्धनमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत केही स्वतन्त्र सांसद्को समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

सत्ता गठबन्धनमा सामेल भइसकेपछि रास्वपा सभापति रवि लामिछाने ११ पुसमा उपप्रधान तथा गृहमन्त्री नियुक्त भएका थिए । तर गृहमन्त्री बनेको ३३ दिनमा लामिछानेको सांसद्सँगै मन्त्री पद गुम्यो । १३ माघमा लामिछानेको दोहोरो नागरिकता मुद्दामा सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरी पुरानै नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनलाई दोषी ठहर गरेको थियो । अदालतको फैसलाले उनले सांसद् तथा मन्त्री पदसमेत गुमाएका थिए ।

नागरिक नै नभएपछि उनले पार्टी सभापति पदबाटसमेत राजीनामा दिएका थिए । १५ माघमा उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएका थिए । नागरिकता प्राप्तिपछि १० पुसको सत्ता गठबन्धनको भागबन्डामा आफ्नो भागमा परेको गृहमन्त्री पद रास्वपालाई दिन लामिछानेले प्रधानमन्त्रीलाई दबाव दिँदै आएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत रास्वपाको भागमा परेको गृहमन्त्री रविको पार्टीलाई दिन प्रचण्डलाई दबाव  दिए । प्रचण्डले स्वार्थ बाझिने भन्दै गृहमन्त्री दिननसक्ने र अरू मन्त्रालय लिन आग्रह गरेका थिए । गृहमन्त्रालय नपाएपछि २२ माघमा सरकारमा गएको ४२ दिनमै रास्वपा सरकारबाट बाहिरियो ।

यसरी सदन र सत्तामा उपस्थिति जनाउन सफल रवि अहिले १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनमा चितवन–२ बाट प्रतिस्पर्धामा उत्रिएका छन् । ४ मंसिरको निर्वाचनमा रवि चितवन–२ बाटै फराकिलो मतान्तरले निर्वाचित भएका थिए । यद्यपि अहिले उनी राहदानी दुरुपयोगसम्बन्धी मुद्दा खेपीरहेका छन् ।

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले ७६ को उपधारा (२) बमोजिम ७ दिनको समय दिएर ३ पुसमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

संविधानको उक्त व्यवस्थाअनुसार प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने व्यवस्था छ । सोहीअनुसार १० पुसमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए । राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुसको बेलुकी प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमालेलगायतका सात दल र ३ स्वतन्त्र सांसद्सहित १६९ सांसदको समर्थन पाएका थिए ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रधानमन्त्री बन्न चाहेका प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नदिएपछि प्रचण्डले एमालेको साथ खोजेका थिए । जसका कारण प्रचण्डले गठबन्धन परिवर्तन गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए । १० वर्षे सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएलगत्तै भएको निर्वाचनपछि प्रचण्ड २०६५ भदौमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यस्तै उनी २०७३ सालमा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री नियुक्त भएको १६ दिनमा प्रचण्डले २६ पुसमा प्रतिनिधि सभामा विश्वासको मत पाएका थिए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जनाको मत परेको थियो । निर्वाचनमा सहभागी कुल २७० जनामध्ये २६८ मत प्रचण्डको पक्षमा परेको हो ।

देवराज घिमिरे सभामुख निर्वाचित

झापा–२ बाट  निर्वाचित एमाले नेता देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएका थिए । ५ माघमा भएको सभामुखको निर्वाचनमा घिमिरेको पक्षमा १६७ र विपक्षमा १०० मत परेको थियो। प्रतिनिधि सभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ बसेका थिए ।

घिमिरेलाई सभामुख बनाउन एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए । 

उपसभामुखमा इन्दिरा रानामगर

प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर निर्वाचित भइन् । ७ माघमा भएको उपसभामुखको निर्वाचनमा इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी थिइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याएकी थिइन् ।

राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भइन् । २३ माघको राष्ट्रिय सभाको बैठकमा अर्यालको मात्र एकल उम्मेदवारी परेको भन्दै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

ब्युँतियो कांग्रेस नेतृत्वको पुरानो गठबन्धन

एमालेको सहयोगमा प्रधानमन्त्री नियुक्त भएपनि प्रचण्डले दुई महिनामै गठबन्धन परिवर्तन गर्दै कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँताए । प्रचण्ड एमाले कित्तामा गएर प्रधानमन्त्री बनेपछि केन्द्रदेखि प्रदेशका सबै सरकारबाट हात धोएको कांग्रेसले २६ पुसमा प्रतिनिधि सभामा प्रचण्डलाई विश्वासको मत दिँदै सत्ता फर्काउने औपचारिक ‘ढोक्सा’ थापेको थियो । 

संसद्मा प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्ड कांग्रेसप्रति नैतिक रूपमा लचिलो भएका थिए । त्यसपछि भएका सभामुख, उपसभामुखको निर्वाचनमा एमाले नेतृत्वको गठबन्धनमा सँगै उभिए पनि राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा प्रचण्डले सत्ता साझेदार परिवर्तन गर्ने निर्णयमा पुगे ।

विशेषरी १० पुसमा सत्ता गठबन्धनको भागबन्डामा राष्ट्रपति एमालेले लिने सहमतिअनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने विषय उठान गर्दै आएका थिए ।

अन्ततः राष्ट्रपतिको मनोनयन हुने अघिल्लो दिन १२ फागुनमा बसेको कांग्रेस, माओवादीका शीर्ष नेताको बैठकले पुरानो गठबन्धन ब्युँताउने र १३ फागुनमा राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेको गरेको थियो । यसरी पुरानो गठबन्धन ब्युँताउने निर्णय गरेसँगै एमाले नेतृत्वको १० पुसमा बनेको गठबन्धन औपचारिक रुपमा भत्किएको थियो ।

सोही निर्णयअनुसार १३ फागुनमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदमा मनोनयन दर्ता गराएका थिए ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

२५ फागुनमा कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पूर्वसभामुख समेत रहेका नेता पौडेल र संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा भएको थियो ।

पौडेलले ३३ हजार ८०२ मत भारसहित पौडेल निर्वाचित भएका थिए । राष्ट्रपति पदका अर्का उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाएका थिए । पौडेललाई नेपाली कांग्रेससहित माओवादी, नेकपा (एस), जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी नौ दलले समर्थन गरेको थियो भने, नेम्वाङलाई आफ्नो पार्टी एमालेको मात्र समर्थन थियो ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदान गर्ने उम्मेदवारको नाम नखुलाए पनि राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी भएको थियो ।

उपराष्ट्रपतिमा रामसहाय प्रसाद याद

जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । ३ चैतमा भएको उपराष्ट्रपतिको निर्वाचनबाट यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजीत गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरेका थिए । जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेकी थिइन् । उपराष्ट्रपतिमा निर्वाचित यादव ४ मंसिरमा भएको निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए ।

प्रचण्डलाई दोस्रोपटक विश्वासको मत

सत्ता साझेदार परिवर्तन गरेपछि प्रधानमन्त्री प्रचण्डले ६ चैतमा प्रतिनिधि सभामा दोस्रोपटक विश्वासको मत लिएका थिए । प्रचण्डलाई विश्वास छ भन्ने पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको  थियो । मत दिन्न भन्ने पक्षमा एक मत खसेको थियो ।

मतदान प्रक्रियामा सहभागी भएका २६२ सांसदमध्ये प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो । एमालेसँग गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले कांग्रेससहित दस दलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका थिए । एमालेलगायत दलहरूले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले दोस्रोपटक विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी पार्टी (जसपा),एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा),नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलको समर्थन थियो ।

सांसद् ढाकाकुमारको दुई करोड अडिओ काण्ड

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएको छ । २६ चैतमा सांसद् श्रेष्ठ र व्यवसायी प्रसाईंबीच भएको टेलिफोन संवादको अडिओ सार्वजनिक भएको थियो ।

उक्त अडिओ सार्वजनिक भइसकेपछि रास्वपाले उनलाई सांसद र पार्टीको सदस्यबाट निलम्बन गरेको । रास्वपाले उक्त विषयमा छानबिन गरिरहेको छ भने यस विषयमा संसद्को दुवै सदनमा समेत मन्त्री बन्न पैसा माग्ने सांसद् श्रेष्ठ र अडिओमा भनिएको कोरटीमको छानबिन गरेर कारबाही गर्नुपर्ने आवाज उठेको छ । यस विषयमा नागरिकस्तरमा समेत आशा गरिएका पार्टीमा यस्तो बेथिति देखिएको भन्दै रास्वपाको आलोचना हुँदै आएको छ ।

जो बिदा भए

यस वर्ष राष्ट्रका केही चर्चित व्यक्तिहरूको निधन भएको छ । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी, राजनीतिज्ञ प्रदीप गिरी, रेडियोकर्मी कृष्णा ताम्राकारले संसार छाडे । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा ३० असोजमा निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत रहेकै अवस्थामा जोशीको निधन भएको थियो । 

त्यस्तै नेपाली कांग्रेसका नेता तथा सांसद् प्रदीप गिरीको ३ भदौमा निधन भएको थियो । घाँटीको क्यान्सरबाट पीडित गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । यसैगरी वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको यसै वर्ष निधन भयो । १० चैतमा उनको ८६ वर्षको उमेरमा निधन भएको हो । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवम् समाचार वाचक थिइन् ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १०:४०
Weather Update