News Griha :: न्यूजगृह
राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु

काठमाडौं— राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । सातै प्रदेशका विभिन्न मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले हरेक प्रदेशमा एक/एक वटा मतदानस्थल र दुई/दुई वटा मतदान केन्द्र तोकेको छ ।

बिहान ९ बजेबाट सात वटै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।  मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । आगामी फागुन २० देखि रिक्त हने राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुन लागेको हो । मतदान सम्पन्न हुने बित्तिकै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनमा विभिन्न आठ राजनीतिक दलका ५१ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदाता छन् । निर्वाचनमा कुल दुई हजार ४७ मतदाता रहेको आयोगले जनाएको छ । तीमध्ये प्रदेश सभाका मतदाता ५ सय ४९ छन् भने स्थानीय तहका १ हजार ४ सय ९८ छन् । 

प्रदेश सभामा प्रति मतदाताको ५३ मतभार छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ छ । निर्वाचनमा जम्मा मतभार ५७ हजार ५ सय ५९ रहेको छ । 

कोशीमा मतदाता ३६७ र मतभार १० हजार १३५, मधेशमा ३७४ मतदाता, १० हजार ७४४, बागमतीमा ३४७ मतदाता, १० हजार ३३३, गण्डकीमा २३० मतदाता, ६ हजार ४१०, लुम्बिनीमा ३०५ मतदाता, ८ हजार ७५३, कर्णालीमा १९६ मतदाता, ५ हजार ८४, सुदूरपश्चिममा २२८ मतदाता र मतभार ६ हजार १०० छ ।  

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १०:००
Weather Update